भारत, चीन र अमेरिकासहितका लागि राजदूतको नाम टुंग्याउने तयारी

1.5k Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयले रिक्त २२ मध्ये २१ देशका लागि नेपाली राजदूत नियुक्तिको अन्तिम सूची तयार पारेको छ। तर प्रस्तावित नाममा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच केही विषयमा सहमति हुन बाँकी रहेको जनाइएको छ।

मन्त्रालयले तयार पारेको सूचीमा १४ जना राजनीतिक नियुक्ति र ७ जना परराष्ट्र सेवाका करिअर कूटनीतिज्ञ रहने गरी प्रस्ताव गरिएको छ। यसअघि मन्त्रालयले जेठ दोस्रो साता राजदूतका लागि आवेदन मागेको थियो। करिब ४ हजार ४ सय आवेदन परेकामा करिब २ हजार ७ सय नाम छोटो सूचीमा राखिएको थियो।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनले रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालसँग अन्तिम सूचीबारे छलफल गरिरहेका छन्। लामिछानेले केही प्रस्तावित व्यक्ति र उनीहरूको पृष्ठभूमिबारे चासो राखे पनि सरकारको प्राथमिकता स्पष्ट भएपछि अनावश्यक हस्तक्षेप नगर्ने नीति लिएको पार्टी स्रोतको भनाइ छ।

लामिछानेले राजदूत बन्ने व्यक्तिको सम्बन्धित मुलुकसँगको पूर्वसम्बन्ध वा सम्पर्क तथा त्यहाँ प्रभावकारी रूपमा काम गर्न सक्ने क्षमतालाई आधार बनाउनुपर्ने धारणा राखेको स्रोतले जनाएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालले भने व्यावसायिक पृष्ठभूमि भएका तथा नेपाली राजनीतिमा धेरै चर्चामा नरहे पनि आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई प्राथमिकता दिइएको बताएका छन्।

भारतका लागि निश्चलनाथ पाण्डेको नाम अग्रस्थानमा रहेको जनाइएको छ। पूर्वमुख्यसचिव शंकरदास वैरागी पनि सम्भावित नाममा छन्। बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर राणाको नामबारे छलफल भइरहेको बताइएको छ।

चीनका लागि फुदान विश्वविद्यालयका कल्याण शर्मा र परराष्ट्र सचिव अमृतबहादुर राईमध्ये एकको सम्भावना रहेको स्रोतको दाबी छ। चिनियाँ पक्षले करिअर कूटनीतिज्ञलाई प्राथमिकता दिएको जनाइएको छ।

संयुक्त राज्य अमेरिकाका लागि चिरञ्जंग थापा, अखिलेश उपाध्याय र कृष्ण ज्ञवालीको नाम अन्तिम सूचीमा रहेको बताइएको छ। जापानका लागि जिज्ञन थापाको नाम करिब टुंगिएको स्रोतले जनाएको छ।

यसैगरी सरु जोशी, संगम श्रेष्ठ र चुडामणि खरेललगायतका नाम पनि विभिन्न मुलुकका लागि चर्चामा छन्। वैदेशिक रोजगारीसँग सम्बन्धित मुलुकमा करिअर कूटनीतिज्ञलाई पठाउने तयारी रहेको बताइएको छ।

सरकारले यसअघि राजदूत नियुक्ति कानुनी, पारदर्शी र व्यावसायिक आधारमा गर्ने बताउँदै विगतका राजनीतिक नियुक्ति खारेज गरेको थियो। तर अहिले अन्तिम सूचीमाथि राजनीतिक तहमा भइरहेको छलफलका कारण केही नाम फेरबदल हुन सक्ने अवस्था रहेको स्रोतहरूले बताएका छन्।

सरकार गठन भएको करिब ६ महिना पुग्न लाग्दासमेत राजदूत नियुक्ति हुन नसकेको भन्दै आलोचना भइरहेका बेला परराष्ट्र मन्त्रालयले सूची तयार गरेर राजनीतिक सहमतिको प्रतीक्षा गरिरहेको छ। सरकारी स्रोतले कम्तीमा आधा संख्यामा राजदूतको नाम एक साताभित्र सिफारिस गर्ने तयारी रहेको जनाएको छ।

सम्बन्धित समाचार