युवा सांसदसँग प्रधानमन्त्री शाहको संवाद, प्रविधि र रोजगारी मुख्य एजेन्डा
974
Shares
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार प्रधानमन्त्री शाह र युवा सांसदबीच छलफल सुरु भएको हो।
छलफलमा नयाँ पुस्तासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विषयमा केन्द्रित भएर विचार–विमर्श भइरहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ।
बैठकमा नवीनतम प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा तथा वातावरणीय सन्तुलनसहितको दिगो विकास लगायतका विषयमा गहन छलफल हुने बताइएको छ।
नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने सांसदसँगको अन्तरक्रियालाई सरकारले युवा पुस्ताका प्राथमिकता, अपेक्षा र नीतिगत सुझाव बुझ्ने अवसरका रूपमा अघि बढाएको छ। छलफलबाट प्रविधिमैत्री शासन, रोजगारी सिर्जना, उद्यमशीलता तथा शिक्षा–स्वास्थ्यका क्षेत्रमा नीतिगत सुधारका विषयमा सुझाव आउने अपेक्षा गरिएको छ।