संविधानको रक्षा गर्न पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्छ : ओली

1.1k Shares

काठमाडौं । ने.क.पा. एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि गम्भीर संकट पैदा भएको दाबी गरेका छन्। १२औँ संविधान दिवसका अवसरमा शनिबार प्रेस वक्तव्य जारी गर्दै ओलीले वर्तमान सरकार संविधान र कानुनी राज्यको मान्यताविपरीत स्वेच्छाचारी ढंगले अघि बढिरहेको आरोप लगाए।

ओलीले गत वर्ष राज्यका प्रमुख धरोहरमाथि भएको विध्वंसकारी आक्रमणपछि संविधान, संवैधानिक व्यवस्था र लोकतन्त्रमाथि संकट उत्पन्न भएको दाबी गरेका छन्। उनका अनुसार राज्यका संवैधानिक तथा संस्थागत संरचनामाथि हस्तक्षेप भइरहेको छ।

उनले राज्यका विभिन्न अंगमा ‘गैरराजनीतिक’ र ‘प्रोफेसनल’ व्यक्ति चयन गर्ने नाममा थप राजनीतिकरण भइरहेको आरोपसमेत लगाए। राजनीतिक नियुक्तिमा योग्यताभन्दा व्यक्तिगत निकटता र स्वार्थलाई प्राथमिकता दिइएको उनको दाबी छ।

ओलीले वर्तमान सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने गरी बाह्य शक्तिकेन्द्रको स्वार्थअनुकूल काम गरिरहेको आरोप पनि लगाए। यस्तो परिस्थितिबाट मुलुकलाई जोगाउन संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ।

संविधान जारी गर्दाको कठिन परिस्थिति स्मरण

ओलीले संविधान जारी भएलगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरित गरेको स्मरण गरेका छन्।

उनले संविधान निर्माणका क्रममा नेपाल राष्ट्र र नेपाली जनताले ठूलो मूल्य चुकाउनुपरेको बताएका छन्। संविधान जारी भएपछि आएको कठिन परिस्थितिले संविधानको रक्षा र संविधानमा एकताबद्ध हुन प्रेरित गरेको उनको भनाइ छ।

ओलीले एमाले नेतृत्वको सरकारले संविधान जारी भएपछि छोटो समयमै आवश्यक कानुन निर्माण तथा संरचनात्मक विकासमार्फत संविधान कार्यान्वयनको चरणमा लगेको दाबी गरेका छन्। संविधानले परिकल्पना गरेका विकास निर्माणका कामलाई समेत बहुआयामिक रूपमा अघि बढाइएको उनले उल्लेख गरेका छन्।

‘ऐतिहासिक संविधान’

ओलीले नेपालको संविधान नेपाली जनताको दशकौँ लामो बलिदानीपूर्ण संघर्षको जगमा जननिर्वाचित संविधानसभाबाट बनेको पहिलो ऐतिहासिक संविधान भएको बताएका छन्।

प्रमुख राजनीतिक दलबीचको समझदारीमा अनेकौँ प्रतिकूलता र चुनौती चिर्दै संविधान जारी गर्न सफल भएको उनको भनाइ छ। संविधानले गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न बनाएको तथा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासन प्रणाली स्थापित गरेको उनले उल्लेख गरेका छन्।

संविधानले राज्यका सबै अंगमा समानुपातिक, समावेशी र सहभागितामूलक प्रणालीलाई आत्मसात गरेको ओलीले बताएका छन्।

उनका अनुसार नागरिक स्वतन्त्रता, शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता र आवासलगायत ३१ वटा मौलिक हक संविधानले सुनिश्चित गरेको छ। यी अधिकारको पूर्ण प्रत्याभूतिका लागि राज्य बलियो र समृद्ध हुनुपर्ने उनको भनाइ छ।

संविधानले प्रत्याभूत गरेका मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्न सक्ने सामर्थ्य निर्माण गर्दै समाजवादको दिशामा अघि बढ्ने संकल्पसहित एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई राष्ट्रिय गन्तव्य निर्धारण गरेको ओलीले बताएका छन्।

अन्त्यमा ओलीले मुलुकलाई वर्तमान परिस्थितिबाट जोगाउन संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिन र संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न आह्वान गरेका छन्।

सम्बन्धित समाचार