भारतीय उद्योगपतिलाई नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान

1.2k Shares

नयाँ दिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शनिबार भारतीय उद्योगपतिहरूलाई नेपालमा नयाँ लगानी गर्न तथा नेपालमा लगानी गरिसकेका व्यवसायीलाई लगानी विस्तार गर्न आह्वान गर्ने भएका छन्।

भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले शनिबार बिहान साढे ९ बजे नयाँ दिल्लीस्थित भारतीय उद्योग परिसङ्घ (सीआईआई) को मुख्यालयमा आयोजना हुने उद्योगीहरूसँगको ‘राउन्ड टेबल’ छलफललाई सम्बोधन गर्ने कार्यक्रम छ।

सीआईआईकी अध्यक्ष डा. सुचित्रा के. इलाको अध्यक्षतामा हुने कार्यक्रममा अर्थमन्त्री वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

छलफलका क्रममा अर्थमन्त्री वाग्लेले नेपालमा उपलब्ध लगानीका अवसरबारे भारतीय उद्योगपतिलाई जानकारी गराउँदै नयाँ लगानीका लागि आग्रह गर्नेछन्। नेपालमा यसअघि लगानी गरिरहेका भारतीय उद्योगीलाई थप लगानी विस्तार गर्नसमेत उनले आग्रह गर्ने कार्यक्रम रहेको छ।

त्यस क्रममा उनले नेपाल सरकारले लगानीको वातावरण सुधार गर्न चालेका कदम, लगानीमैत्री कानुनी स्थिरता, लगानीको सुरक्षा तथा प्रतिफलको निश्चितताका विषयमा नेपाल सरकारको धारणा स्पष्ट पार्नेछन्।

नेपालमा वैदेशिक लगानी भित्र्याउन कानुनी तथा नीतिगत वातावरणलाई थप सहज बनाउने विषयमा समेत अर्थमन्त्रीले भारतीय उद्योगीहरूसँग छलफल गर्ने बताइएको छ।

सीआईआईका अनुसार अर्थमन्त्री वाग्लेसँग हुने छलफलमा परिसङ्घका पूर्वअध्यक्ष एवं आईटीसी इन्डियाका अध्यक्ष सञ्जीव पुरीसहित करिब दुई दर्जन भारतीय उद्योगपति सहभागी हुनेछन्।

भारत नेपालको प्रमुख व्यापारिक तथा लगानी साझेदारमध्ये एक भएकाले भारतीय निजी क्षेत्रबाट नेपालमा थप लगानी भित्र्याउने विषयलाई अर्थमन्त्रीको भ्रमणका क्रममा प्राथमिकतामा राखिएको छ। छलफलले नेपालमा भारतीय लगानी विस्तारका सम्भावित क्षेत्र र लगानीकर्ताका चासोबारे प्रत्यक्ष संवादको अवसरसमेत प्रदान गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार