संविधानका उपलब्धि जोगाउँदै बाँकी कार्यभार पूरा गर्नुपर्छ : प्रचण्ड

974 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी भएको संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको बताएका छन्।

संविधान दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तनलाई व्यवहारमा स्थापित गर्न सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताएका हुन्।

उनले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारलाई पछाडि फर्काउने कुनै पनि प्रयत्न स्वीकार्य नहुने बताएका छन्। संविधानका मूल्य, मान्यता र जनअधिकारलाई कमजोर पार्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा उनले जोड दिएका छन्।

प्रचण्डले राजनीतिक परिवर्तनलाई आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोड्नुपर्ने बताएका छन्। शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।

‘संविधानका अक्षर मात्र होइन, यसको आत्मालाई जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्छ,’ प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ।

उनले संविधानलाई केवल कानुनी दस्तावेजका रूपमा बुझ्न नहुने बताएका छन्। नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्तिका रूपमा संविधानलाई लिनुपर्ने उनको भनाइ छ।

प्रचण्डले संविधानले सुनिश्चित गरेका अधिकारलाई व्यवहारमा स्थापित गर्दै जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन्। त्यसका लागि राजनीतिक उपलब्धिको संरक्षणसँगै आर्थिक, सामाजिक र उत्पादनमूलक क्षेत्रमा रूपान्तरण आवश्यक रहेको उनले बताएका छन्।

संविधान दिवसले संविधानको रक्षा, कार्यान्वयन र त्यसले बोकेको परिवर्तनको लक्ष्य पूरा गर्ने प्रतिबद्धतालाई थप बलियो बनाउने अवसर प्रदान गर्ने उल्लेख गर्दै उनले सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।

सम्बन्धित समाचार