जलवायु परिवर्तनको असर सामना गर्न नेपाललाई क्षतिपूर्ति चाहिन्छ : रेग्मी

911 Shares

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालको जलवायु न्यायका लागि संयुक्त राष्ट्रसंघले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन्। संविधान दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भएर विकास तथा समृद्धितर्फ अघि बढ्नु नेपालको राष्ट्रिय लक्ष्य र संवैधानिक मार्गचित्र भएको बताएका हुन्।

उनले समयको मागअनुसार संविधानको संरक्षण र संवर्द्धन गर्नु आवश्यक रहेको उल्लेख गर्दै संविधानसभाबाट २०७२ सालमा नेपाली जनताले लामो संघर्ष र विभिन्न जनआन्दोलनको उपलब्धिका रूपमा आफ्नो संविधान आफैँ बनाउन सफल भएको स्मरण गरेका छन्।

नेपालजस्तो पहाडी मुलुकमा भूकम्पीय जोखिम, बाढी–पहिरो तथा जलवायु परिवर्तनका असर प्राकृतिक चुनौतीका रूपमा रहेको उनले बताएका छन्। संविधान दिवसले प्राकृतिक विपद्को सामना गर्न एकजुट भएर अघि बढ्ने सामर्थ्य प्रदान गरोस् भन्ने कामनासमेत उनले गरेका छन्।

हालैको भोटेकोसी बाढीबाट ठूलो धनजनको क्षति भएको र हजारौँ मानिस बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै रेग्मीले विपद्को प्रकृतिबारे पनि धारणा राखेका छन्। उनका अनुसार यसपटकको रसुवा बाढी अत्यधिक वर्षाका कारण नभई हिमपहिरोका कारण भएको र त्यसलाई जलवायु परिवर्तनको असरका रूपमा हेरिएको छ।

यस्ता विपद्सँग जुध्न र क्षति बेहोर्न नेपालको आफ्नै क्षमता पर्याप्त नभएको उल्लेख गर्दै उनले नेपाललाई जलवायु न्याय र क्षतिपूर्ति आवश्यक रहेको बताएका छन्।

जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय सहयोग नेपालका लागि अनिवार्य आवश्यकता बनेको भन्दै रेग्मीले त्यसका लागि संयुक्त राष्ट्रसंघले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। साथै, उनले दीर्घकालीन रूपमा यस्ता प्राकृतिक विपत्तिको सामना गर्न नेपालको आफ्नै सामर्थ्य र क्षमता पनि बढाउँदै लैजानुपर्ने बताएका छन्।

सम्बन्धित समाचार