रास्वपाभित्रकै असहयोगले सरकार कमजोर बन्यो : प्रभु साह

1.3k Shares

वीरगञ्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको दुई तिहाइ बहुमतको सरकार व्यवहारमा भने शक्तिहीन र लाचार बनेको टिप्पणी गरेका छन्।

आजपा सम्मिलित नौदलीय मोर्चाको मधेश प्रदेश समन्वय समितिले शनिबार वीरगञ्जस्थित टाउन हलमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै साहले सरकार विपक्षीका कारण नभई सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रकै असहयोगका कारण कमजोर बनेको दाबी गरे।

संसद्मा रहेको संख्याका आधारमा वर्तमान सरकार शक्तिशाली देखिए पनि उसले अपनाएको नीति र व्यवहारका कारण सरकार निरीह अवस्थामा पुगेको उनको भनाइ थियो।

साहले प्रधानमन्त्री शाहलाई आफ्नो महत्वाकांक्षा पूरा गर्ने हो भने अब ‘एक्सन’मा उत्रिन सुझाव दिए। प्रधानमन्त्री बनेलगत्तै पहिलो मन्त्रिपरिषद् बैठकबाट एक सय दिनमा एक सय वटा शासकीय सुधारका कार्यक्रम घोषणा गर्दा जनतामा उत्साह देखिए पनि त्यसपछि सरकारको कार्यशैलीप्रति निराशा बढ्दै गएको उनले बताए।

उनका अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम ल्याउँदासम्म जनताको उत्साह घटिसकेको थियो भने बजेट सार्वजनिक हुँदासम्म निराशा थप बढेको थियो।

अझै समय घर्किनसकेको भन्दै साहले प्रधानमन्त्री शाहलाई ‘जंगी अड्डा’तिर नभई जनताको भरोसामा अघि बढ्न सुझाव दिए। उनले प्रधानमन्त्रीलाई संख्या नभई सत्य, बल नभई विधि र सेना नभई संविधानको साथमा हिँड्न आग्रह गरे।

पछिल्लो समय मुलुकमा देखिएका विभिन्न संकटका घटनामा पनि रास्वपा नेतृत्वले प्रधानमन्त्रीलाई बाइपास गरेर गतिविधि गरेको साहको आरोप थियो। धार्मिक सद्भाव बिथोलिएको सुनसरीको देवानगञ्ज घटनादेखि रसुवाको भोटेकोशी बाढीबाट उत्पन्न विपत्तिसम्मका घटनामा पार्टी नेतृत्वको भूमिकाप्रति उनले प्रश्न उठाए।

विदेश सम्बन्ध र कूटनीतिक अभ्यासमा समेत रास्वपा सभापति रवि लामिछाने एकातिर र प्रधानमन्त्री शाह अर्कोतिर उभिएको तथा सोहीअनुसार समानान्तर अभ्यास भइरहेको साहले आरोप लगाए।

लामिछानेले समानान्तर सरकार चलाउन खोज्दा सरकारको कार्यसम्पादनमा असर परेको भन्दै सचेत नागरिकले गुनासो गर्न थालेको उनले बताए। रास्वपाले भागबण्डाको राजनीति र नेतातन्त्रको अभ्यास गरेको आरोप लगाउँदै साहले सरकारका मन्त्री तथा रास्वपाका नेताबीच पछिल्लो समय सार्वजनिक भएका आरोप–प्रत्यारोपले त्यसलाई पुष्टि गर्ने दाबी गरे।

सरकारले सामान्य सेवा प्रवाहसमेत प्रभावकारी रूपमा गर्न नसक्दा आलोचित बन्नुपर्ने अवस्था दुःखद् भएको साहले बताए। ग्यासको अभावमा जनताको चुलो निभ्ने अवस्था आएको लामो समय बितिसक्दा पनि समस्या समाधान हुन नसकेको र सरकारी सेवामा लाइन घट्नुको साटो बढ्दै गएको भन्दै उनले सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाए।

सरकार बनेपछि भएका विभिन्न नियुक्तिमा समेत समावेशिताको सिद्धान्तलाई बेवास्ता गरिएको साहको आरोप थियो। महिला, मधेशी र दलित समुदायलाई उपेक्षा गरिएको तथा नियुक्तिमा कर्णाली र दलितको प्रतिनिधित्व शून्य बनाइएको दाबी गर्दै उनले सरकारलाई संविधानको समावेशी मर्मअनुसार प्रतिनिधित्व सुनिश्चित गर्न सुझाव दिए।

सम्बन्धित समाचार