मुगु । प्रसिद्ध रारातालमा पछिल्लो एक वर्षमा २४ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन्। रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म २४ हजार ९३१ जना पर्यटक रारा पुगेका छन्। तीमध्ये २४ हजार ६०४ जना आन्तरिक, १२६ जना सार्क मुलुकका र २०१ जना अन्य मुलुकका पर्यटक रहेका छन्।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म २० हजार १९१ जना आन्तरिक तथा विदेशी पर्यटकले रारा भ्रमण गरेका थिए। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा रारा आउने पर्यटकको संख्या बढेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका वन संरक्षण अधिकृत विष्णुबाबु श्रेष्ठले जानकारी दिनुभयो।
पर्यटकको आगमनसँगै रारा राष्ट्रिय निकुञ्जको राजस्वमा समेत वृद्धि भएको छ। गत आर्थिक वर्षमा प्रवेश शुल्क, डुङ्गा चढ्ने शुल्कलगायतबाट निकुञ्जले ८७ लाख ९ हजार ३६६ रुपियाँ राजस्व सङ्कलन गरेको छ।
त्यसमध्ये पर्यटकबाट ४८ लाख २७ हजार ४७७ रुपियाँ तथा दण्ड जरिबाना, काठदाउरालगायतका शीर्षकबाट ९ लाख ७१ हजार ४२९ रुपियाँ सङ्कलन भएको कार्यालयले जनाएको छ।
रारा राष्ट्रिय निकुञ्जको निर्देशिकाअनुसार नेपाली पर्यटकका लागि प्रतिव्यक्ति १०० रुपियाँ प्रवेश शुल्क तोकिएको छ। सार्क मुलुकका पर्यटकले १ हजार ५०० रुपियाँ र अन्य विदेशी पर्यटकले ३ हजार रुपियाँ प्रवेश शुल्क तिर्नुपर्ने व्यवस्था छ। रारामा डुङ्गा चढ्दा प्रतिव्यक्ति ५०० रुपियाँ शुल्क लाग्छ।
रारा भ्रमणका लागि चैत, वैशाख तथा असोज–कात्तिक उपयुक्त समय मानिन्छ। अधिकांश आन्तरिक पर्यटक स्थलमार्ग हुँदै रारा पुग्ने गरेका छन्।
तर सडकको अवस्थाका कारण पर्यटकले समस्या भोग्नुपरेको गण्डकी प्रदेशबाट रारा पुगेका सरोज भण्डारीले बताउनुभयो। उहाँका अनुसार वर्षायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलोका कारण यात्रा कठिन हुने गरेको छ।
पर्यटक तथा शैक्षिक भ्रमणमा आउने विद्यार्थीलाई राराको प्राकृतिक तथा जैविक विविधताबारे जानकारी गराउन संग्रहालयको व्यवस्थापन गर्नुपर्ने मागसमेत उठेको छ।
मुगु र जुम्लाको सीमावर्ती क्षेत्रमा रहेको राराताल १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। प्राकृतिक सौन्दर्य, अनुकूल हावापानी, छायानाथ हिमाल, हिमाली जनजीवन तथा विविध संस्कृतिका कारण रारा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको छ।