एमाले कार्यदलमा २९ पृष्ठको प्रतिवेदनलाई लिएर विवाद, सदस्यहरूले अस्वीकार गर्ने

1.4k Shares

काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै छ। बैठकमा केन्द्रीय सदस्य तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले तयार पारेको २९ पृष्ठको प्रतिवेदन पेस गर्ने तयारी छ।

तर उक्त प्रतिवेदनलाई लिएर कार्यदलभित्रै असन्तुष्टि देखिएको छ। कार्यदलका केही सदस्यहरूले प्रतिवेदन स्वीकार नगर्ने बताएका छन्।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित १५ सदस्यीय कार्यदलभन्दा बाहिरबाट प्रतिवेदन तयार गरी कार्यदलका सदस्यहरूलाई वितरण गरिएको भन्दै असन्तुष्टि बढेको हो।

कार्यदलका सदस्यहरूलाई संयोजक बादलले शनिबार एमाले मुख्यालय च्यासलमा उक्त प्रतिवेदन वितरण गरेका थिए। त्यसपछि बसेको बैठकमा प्रतिवेदनको विषयलाई लिएर सदस्यहरूले आपत्ति जनाएका थिए। एमाले सचिव तथा कार्यदल सदस्य यामलाल कँडेलले प्रतिवेदनप्रति तीव्र असन्तुष्टि जनाउँदै कार्यदलको भूमिकामाथि नै प्रश्न उठ्ने गरी प्रतिवेदन ल्याइएको बताएका थिए।

‘कार्यदलका सदस्यहरूको हुर्मत लिन यस्तो प्रतिवेदन तयार गर्ने हो,’ कँडेलले बैठकमा भनेका थिए, ‘उपाध्यक्ष, महासचिवसहितका नेताहरू अयोग्य हुन् भन्न र कार्यदलकै औचित्य छैन भन्ने स्थापित गर्न भक्तिगानवाला प्रतिवेदन ल्याइयो।’

कँडेलले बादल, महासचिव विष्णु पौडेल र शंकर पोखरेलले तयार गरेको प्रतिवेदन भए त्यसमा छलफल गर्न सकिने भए पनि कार्यदलभन्दा बाहिरबाट तयार पारिएको प्रतिवेदनमा छलफल गर्न नसकिने अडान राखेका थिए। कँडेलको अडानमा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र सचिव डा. राजन भट्टराईसमेत बोलेपछि बैठकमा विषय थप पेचिलो बनेको थियो।

त्यसपछि संयोजक बादलले अर्को बैठकमा छलफल गर्ने भन्दै सदस्यहरूलाई प्रतिवेदन पढेर आउन आग्रह गरेका थिए। कार्यदलका एक सदस्यका अनुसार आजको बैठकमा महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनकै विषयमा पनि छलफल हुने सम्भावना छ।

कार्यदलका अर्का सदस्यले पार्टी पुनर्गठनको विषयलाई प्राथमिकतामा राखेर समीक्षा गर्नुपर्नेमा त्यसलाई हटाएर नेतृत्वको प्रशंसामा केन्द्रित प्रतिवेदन ल्याइएको दाबी गरेका छन्।

‘हामी १५ जना नै अयोग्य हौँ भन्ने स्थापित हुने प्रतिवेदनमा कुन नेताले सहमति जनाउनुहोला र ?’ ती सदस्यले भने, ‘पुनर्गठनको विषयलाई हटाएर स्तुतिगानमा ल्याइएको प्रतिवेदन कुनै हालतमा पास हुँदैन, मानिँदैन।’

एमालेले निर्वाचन परिणामको समीक्षा तथा पार्टी संगठनलाई पुनर्गठन गर्ने उद्देश्यले बादलको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलभित्रै प्रतिवेदनको विषयलाई लिएर मतभेद देखिएपछि आजको बैठकलाई चासोका साथ हेरिएको छ।

सम्बन्धित समाचार