काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक निर्धारित समयमा बस्न नसकेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यालयबाट बाहिरिएका छन्।
एमालेले आइतबार दिउँसो १ बजेका लागि सचिवालय बैठक बोलाएको थियो। तर पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको बैठक लम्बिएपछि सचिवालय बैठक निर्धारित समयमा सुरु हुन नसकेको हो।
बैठकका लागि अध्यक्ष ओलीसहित सचिवालयका सदस्यहरू पार्टी कार्यालयमा पुगेका थिए। तर कार्यदलले आफ्नो प्रतिवेदनलाई अन्तिम रूप दिन समय लागेपछि सचिवालय बैठक प्रभावित भएको जनाइएको छ।
बैठकमा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने तयारी थियो। साथै आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डा तथा पार्टीका समसामयिक विषयमा समेत छलफल हुने बताइएको छ।
निर्धारित समयमा बैठक सुरु नभएपछि अध्यक्ष ओली पार्टी कार्यालयबाट बाहिरिएका हुन्। सचिवालय बैठकको नयाँ समयबारे पार्टीले जानकारी गराउने बताइएको छ।