बुटवल । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पार्टीको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन् । आइतबार रुपन्देही जिल्लाअन्तर्गत बुटवल उपमहानगरपालिका–१८ मा सम्पन्न वडा अधिवेशनबाट खाँण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् ।
वडा अधिवेशनले चिरञ्जीवी ढकालको सभापतित्वमा १५ सदस्यीय वडा कार्यसमिति पनि निर्विरोध चयन गरेको निर्वाचन अधिकृत विक्रम खड्काले जानकारी दिए ।
त्यस्तै, क्षेत्रीय प्रतिनिधिमा विमलप्रसाद ढकाल, प्रतिमा खनाल, हरिप्रसाद सुवेदीलगायत २३ जना निर्विरोध चयन भएका छन् ।
कांग्रेसको जारी वडा अधिवेशनअन्तर्गत बुटवल–१८ मा निर्वाचन प्रक्रिया सर्वसम्मत रूपमा सम्पन्न भएको हो । अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएपछि आगामी पार्टी अधिवेशनका लागि प्रतिनिधित्व सुनिश्चित भएको छ ।