एमाले सचिवालय बैठकबाट कार्यदलको प्रतिवेदन पारित

820 Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले पार्टी सुदृढीकरण, रूपान्तरण तथा पुनर्संरचनासम्बन्धी १५ सदस्यीय कार्यदलले तयार पारेको एकीकृत प्रतिवेदन पारित गरेको छ। उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा रहेको कार्यदलले तयार पारेको प्रतिवेदन सचिवालय बैठकले ग्रहण गर्दै आवश्यक निर्णयका लागि केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको हो। 

पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा कार्यदलका संयोजक थापाले प्रतिवेदन प्रस्तुत गरेका थिए। यसअघि कार्यदलभित्र विभिन्न नेताले छुट्टाछुट्टै प्रतिवेदनको मस्यौदा तयार गरेका थिए। ती मस्यौदालाई समेटेर एकीकृत प्रतिवेदन तयार पारिएको हो। 

कार्यदलमा थापासँगै महासचिव शंकर पोखरेल र नेता प्रदीप ज्ञवालीले समेत छुट्टाछुट्टै मस्यौदा तयार गरेका थिए। चार महिनाको छलफलपछि ती प्रस्तावलाई समेटेर साझा प्रतिवेदन तयार गरी सचिवालयमा पेस गरिएको बताइएको छ। 

प्रतिवेदनमा पार्टीको नेतृत्व पुनर्संरचनासम्बन्धी विषय भने समावेश नगरिएको एमाले नेता लेखराज भट्टले जानकारी दिएका छन्। नेतृत्वसम्बन्धी विषयमा उठेका विभिन्न प्रस्तावमाथि अब केन्द्रीय कमिटी बैठकमा छलफल हुने बताइएको छ। 

यसअघि कार्यदलमा पार्टीको नेतृत्व, विशेष महाधिवेशन, राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक तथा विधान संशोधनलगायत विषयमा छलफल भएको थियो। नियमित विधान महाधिवेशनमा नेतृत्वको कार्यकाल र उमेरहदसम्बन्धी विषयमा छलफल गर्ने प्रस्तावसमेत कार्यदलको छलफलमा आएको थियो। 

एमालेको केन्द्रीय कमिटी बैठक सोमबारदेखि सुरु हुँदैछ। सचिवालयले पारित गरेको प्रतिवेदनमाथि उक्त बैठकमा छलफल हुने र आवश्यक निर्णय केन्द्रीय कमिटीले गर्ने नेताहरूले बताएका छन्। 

 
सम्बन्धित समाचार