काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टी अध्यक्षबाट हटाउनुपर्ने भन्दै खुलेर धारणा राख्ने नेताहरूप्रति व्यंग्य गरेका छन्।
एमालेको केन्द्रीय कमिटी बैठकमा बोल्ने क्रममा ओलीले पार्टी नेतृत्व परिवर्तनको विषयमा सार्वजनिक रूपमा धारणा राख्ने नेताहरूलाई लक्षित गर्दै ‘अध्यक्ष हटाउनुपर्छ भनेर खुलेर भन्ने न्यायाधीश को हो?’ भन्ने प्रश्न गरेका हुन्।
पछिल्लो समय एमालेभित्र निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनको विषयलाई लिएर नेतृत्व परिवर्तनको बहस उठ्दै आएको थियो। केही नेताहरूले पार्टीको अवस्था सुधारका लागि नेतृत्व पुनर्गठन आवश्यक रहेको धारणा राख्दै आएका थिए।
तर निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको एकीकृत प्रतिवेदनमा तत्काल अध्यक्ष ओलीको राजीनामा माग्ने वा उनलाई हटाउने विषय नराख्ने सहमति भएको एमाले सचिव महेश बस्नेतले यसअघि बताएका थिए।
कार्यदलको निष्कर्षअनुसार नेतृत्व पुनर्गठनको विषयलाई तत्काल प्राथमिकतामा नराखी पार्टी एकता सुदृढ गर्ने र आगामी राजनीतिक गतिविधिमा केन्द्रित हुने तयारी एमालेले गरेको छ।
केन्द्रीय कमिटी बैठकमा भने कार्यदलको प्रतिवेदनमाथि छलफल जारी छ। बैठकमा नेताहरूले पार्टीको पछिल्लो अवस्था, संगठन पुनर्संरचना र आगामी कार्यदिशाका विषयमा आफ्ना धारणा राखिरहेका छन्।