ओलीले राजनीतिक प्रतिवेदन पेस गरेपछि एमाले केन्द्रीय कमिटी बैठक स्थगित

834 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेपछि बैठक स्थगित भएको छ। सोमबार सुरु भएको बैठकमा ओलीले पार्टीको समसामयिक राजनीतिक अवस्था, पछिल्ला घटनाक्रम तथा आगामी कार्यदिशाबारे प्रतिवेदन प्रस्तुत गरेका हुन्।

ओलीले प्रतिवेदन पेस गरेपछि बैठकमा त्यसबारे तत्काल छलफल भने हुन सकेन। प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले मंगलबार र बुधबार धारणा राख्ने कार्यतालिका तय गरिएको छ। प्रत्येक सदस्यलाई आफ्नो धारणा राख्न तीन मिनेटको समय निर्धारण गरिएको छ।

बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्जागरणसम्बन्धी कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि छलफल हुँदैछ। यसअघि एमाले सचिवालय बैठकले कार्यदलको एकीकृत प्रतिवेदन पारित गर्दै केन्द्रीय कमिटीमा छलफलका लागि पठाएको थियो।

केन्द्रीय कमिटी बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनसँगै केन्द्रीय सदस्य मनोनयन, पार्टीका विभाग गठन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च गठनलगायतका विषय पनि छलफलका एजेन्डामा रहेका छन्।

त्यस्तै अनुशासन आयोग गठन तथा समसामयिक राजनीतिक प्रस्तावमाथि समेत बैठकमा छलफल हुने बताइएको छ। अध्यक्ष ओलीको प्रतिवेदनमाथिको छलफलपछि पार्टीको आगामी राजनीतिक तथा सांगठनिक दिशाबारे निर्णय हुने अपेक्षा गरिएको छ।

यसअघि निर्वाचन समीक्षा प्रतिवेदनलाई लिएर एमालेभित्र विभिन्न धारणा सार्वजनिक भएका थिए। तीन छुट्टाछुट्टै प्रतिवेदनलाई समेटेर एकीकृत प्रतिवेदन तयार पारिएको र त्यसलाई सचिवालयले पारित गरेको थियो।

सम्बन्धित समाचार