एमाले बैठकमा मोबाइल प्रतिबन्ध, भित्र–बाहिर गर्न ओलीको अनुमति लिनुपर्ने

694 Shares

काठमाडौं । ने.क.पा. (एमाले) को केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ । ललितपुरमा सोमबारदेखि सुरु भएको एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

बैठक बिहान ९ बजेदेखि सुरु हुने र केन्द्रीय कमिटीका प्रत्येक सदस्यले ओलीको प्रतिवेदनमाथि धारणा राख्न तीन मिनेटको समय पाउने जनाइएको छ ।

बैठकको माइन्युट लेखनको जिम्मेवारी उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र गोकर्ण विष्ट तथा महासचिव शंकर पोखरेललाई दिइएको छ । त्यस्तै, उपमहासचिव योगेश भट्टराई, सचिव पद्मा अर्याल तथा केन्द्रीय सदस्यहरू सूर्य थापा, निरज आचार्य र खिमलाल भट्टराईलाई बहस नोट तयार गर्ने जिम्मेवारी दिइएको छ ।

बैठकमा मोबाइल प्रयोगमा प्रतिबन्ध

बैठकलाई मर्यादित बनाउन अध्यक्ष ओलीले केही कडा व्यवस्था लागू गरेका छन् । बैठक हलमा मोबाइल फोन लैजान प्रतिबन्ध लगाइएको छ भने हलभित्र हुने छलफल रेकर्ड गर्न पनि रोक लगाइएको छ । सदस्यहरूले बैठकमा उठेका विषय डायरीमा मात्रै टिपोट गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, बैठकमा बोल्न, हलभित्रबाट बाहिर जान वा बाहिरबाट भित्र प्रवेश गर्न तथा केही विशेष परिस्थितिमा आफ्नो विषय प्रस्तुत गर्न अध्यक्ष ओलीको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

बैठकका लागि अध्यक्षको प्रतिवेदनमाथिको छलफलसहित केन्द्रीय कमिटीमा मनोनीत, विभिन्न विभाग गठन, पोलिटब्युरो गठन, स्थायी समिति गठन, सल्लाहकार परिषद् गठन, ज्येष्ठ कम्युनिस्ट मञ्च गठन, अनुशासन आयोग गठन र समसामयिक प्रस्तावलगायत नौ वटा एजेन्डा तय गरिएको छ ।

बैठकमा आजदेखि ओलीको प्रतिवेदनमाथि सदस्यहरूको धारणा र बहस सुरु हुने भएकाले एमालेभित्रका पछिल्ला राजनीतिक तथा संगठनात्मक विषयमा समेत छलफल केन्द्रित हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार