मलेसियामा रोजगारीको समस्या समाधान गर्न प्रधानमन्त्री बालेनले मलेसियाली समकक्षीसँग फोनवार्ता गरे

876 Shares

काठमाडौं । मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा देखिएको समस्याबारे प्रधानमन्त्री बालेन शाहले मलेसियाका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेका छन्। वार्ताका क्रममा नेपाली श्रमिकको रोजगारी तथा श्रमिक पठाउने प्रक्रियामा देखिएको अवरोध समाधान गर्ने विषयमा छलफल भएको हो।

मलेसियाले नेपालबाट विदेशी श्रमिक भर्तीका लागि नयाँ प्रणाली लागू गर्दै सीमित म्यानपावर कम्पनीलाई मात्रै प्रक्रियामा समावेश गरेपछि नेपालमा विवाद उत्पन्न भएको छ। यस विषयमा नेपाल सरकारले असन्तुष्टि जनाउँदै कूटनीतिक माध्यमबाट समस्या समाधानको प्रयास गर्दै आएको छ। 

मलेसियाको नयाँ व्यवस्थाअनुसार नेपालका सीमित म्यानपावर कम्पनीलाई विदेशी श्रमिक भर्तीसम्बन्धी प्रणालीमा सूचीकृत गरिएपछि अन्य व्यवसायी तथा वैदेशिक रोजगार क्षेत्रमा आबद्ध संस्थाले विरोध जनाएका छन्। उनीहरूले सबै कानुनी रूपमा सञ्चालनमा रहेका म्यानपावर कम्पनीलाई समान अवसर दिनुपर्ने माग गर्दै आएका छन्। 

नेपाल सरकारले भने दुई देशबीच भएको श्रम सम्झौताको भावनाअनुसार श्रमिक आपूर्तिसम्बन्धी प्रक्रिया अघि बढाउनुपर्ने बताउँदै आएको छ। श्रमसम्बन्धी विषयमा दुई देशबीचको संयुक्त संयन्त्रमार्फत छलफल गरेर समाधान खोज्नुपर्ने नेपालको धारणा छ। 

मलेसियामा ठूलो संख्यामा नेपाली नागरिक रोजगारीमा रहेका कारण त्यहाँको नयाँ भर्ती प्रणालीले नेपाली श्रमिकको वैदेशिक रोजगारीमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ। नयाँ प्रणालीका कारण केही समयदेखि श्रमिक पठाउने प्रक्रियामा अन्योलसमेत देखिएको छ। 

प्रधानमन्त्री शाह र मलेसियाली प्रधानमन्त्रीबीच भएको टेलिफोन वार्तालाई यही समस्याको समाधानका लागि उच्च तहमा भएको पहलका रूपमा हेरिएको छ। वार्ताबाट दुई देशबीचको श्रमसम्बन्धी विवाद समाधान गरी नेपाली श्रमिकका लागि रोजगारीको बाटो सहज बनाउने विषयमा सहमति खोजिने अपेक्षा गरिएको छ।

 
 
 
 
 
 
 
 
सम्बन्धित समाचार