ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल अन्तिम चरणमा, भोलि सचिवालय बैठक बस्ने

939 Shares

काठमाडौँ । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकको तेस्रो दिन आज पनि केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने भएका छन्। बैठक बिहान ९ बजेदेखि सुरु हुँदैछ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार बैठकको दोस्रो दिनसम्म ११८ जना केन्द्रीय सदस्यले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखिसकेका छन्। आज बाँकी सदस्यहरूले धारणा राख्ने क्रम पूरा गर्ने तयारी गरिएको छ।

बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई आफ्नो धारणा राख्न तीन मिनेटको समय तोकिएको छ। बैठकमा पार्टीका विभिन्न नौवटा एजेन्डा माथि छलफल भइरहेको आचार्यले जानकारी दिएका छन्।

उनका अनुसार आज सबै केन्द्रीय सदस्यले राजनीतिक प्रतिवेदनमाथि धारणा राखिसकेपछि भोलि सचिवालय बैठक बस्ने तयारी छ। सचिवालय बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने र त्यसलाई अनुमोदनका लागि पुनः केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने तयारी गरिएको छ।

पार्टीभित्र विभिन्न विषयमा मतभेद देखिएका बेला सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि अधिकांश सदस्यहरूले समर्थन जनाएको एमाले नेताहरूले बताएका छन्।

जारी बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलसँगै केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो गठन र स्थायी कमिटी गठन लगायतका विषयमा पनि छलफल भइरहेको छ।

एमालेको केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रतिवेदनमाथिको छलफल टुंग्याएपछि संगठनात्मक संरचना तथा आगामी कार्यदिशासँग सम्बन्धित विषयमा निर्णय प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

सम्बन्धित समाचार