काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवारले न्याय पाउनुपर्ने माग गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै खत्रीले रास्वपा सभापति रवि लामिछानेले संसद्को पहिलो बैठकमा व्यक्त गरेको भनाइ स्मरण गर्दै त्यसको कार्यान्वयनबारे प्रश्न उठाएका हुन्।
लामिछानेले गत चैत १९ गते बसेको संसद्को पहिलो बैठकलाई सम्बोधन गर्दै ‘न्याय पाउने पहिलो हक शहीदकी आमाको हो’ भनेको स्मरण गर्दै खत्रीले संसद्को ५८औँ बैठकसम्म आइपुग्दा पनि शहीद परिवारले न्यायको अनुभूति गर्न नसकेको बताए।
‘गत चैत १९ गते बसेको पहिलो संसद् बैठकलाई सम्बोधन गर्दै हाम्रा सभापति रवि लामिछानेले भन्नुभएको थियो, न्याय पाउने पहिलो हक शहीदकी आमाको हो। तर ५८औँ बैठकमा आइपुग्दा आफ्नो अपमान गरियो भन्दै शहीदकी आमा रुने अवस्था बन्यो,’ उनले भने।
खत्रीले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरू भ्रष्टाचारविरुद्धको आवाज बोकेर सडकमा आएको दाबी गरे। उनीहरूका परिवारले अझै न्यायको अनुभूति गर्न नसकेको भन्दै उनले संसद्मा यस विषयमा गम्भीर छलफल हुनुपर्ने बताए।
‘छोराको झोलामा कापी र किताब थियो, मुखमा भ्रष्टाचारविरोधी नारा थियो, छाती र टाउकोमा गोली हानियो, खुङ्खार आतङ्कवादीसरह मारियो,’ खत्रीले भने, ‘आमाको आँसु बलिन्द्र धाराझैँ बगिरह्यो।’
उनले शहीदको रगत र आमाको आँसुको हिसाबकिताब हुने प्रतिबद्धता व्यक्त गरिए पनि अहिले शहीद परिवारले नै संसद्मा आएर आफ्नो पीडा सुनाउनुपर्ने अवस्था सिर्जना भएको बताए।
खत्रीले जेन–जी आन्दोलनलाई संसद्ले कसरी परिभाषित गर्ने भन्ने प्रश्नसमेत उठाए। उनले आन्दोलनलाई ‘सचेत युवाहरूको विद्रोह’ का रूपमा स्वीकार गर्ने हो भने संसद्बाटै सङ्कल्प प्रस्ताव पारित गर्नुपर्ने माग गरे।
‘जेन–जी आन्दोलन सचेत युवाहरूको विद्रोह हो या होइन ? हो भने यही सदनबाट सङ्कल्प प्रस्ताव ल्याएर पास गरौँ,’ उनले भने, ‘दोषीलाई कठघरामा उभ्याएर जेनजीलाई न्याय दिने सङ्कल्प गरौँ।’
उनले जेन–जी आन्दोलनका क्रममा भएको घटनाबारे संसद्ले स्पष्ट निर्णय लिनुपर्नेमा जोड दिए। अन्यथा शहीद परिवारको पीडा र आमाहरूको आँसुले राजनीतिक नेतृत्वलाई निरन्तर प्रश्न गरिरहने उनको भनाइ थियो।