काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बस्नेछ।
प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। उक्त प्रस्तावमाथि संसद्मा छलफल अघि बढ्नेछ।
यसैबीच, राष्ट्रियसभाको बैठक दिउँसो सवा ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकको सुरुवातमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा सभासमक्ष जानकारी गराउनेछन्।
राष्ट्रियसभा बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रमसमेत रहेको छ।
त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस गर्नेछन्।
बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची पनि रहेको छ।
यसरी आज प्रतिनिधिसभामा विधेयकसम्बन्धी कामकारबाही अघि बढ्नेछ भने राष्ट्रियसभामा संवैधानिक तथा संसदीय प्रतिवेदन प्रस्तुत गर्नुका साथै विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर हुनेछन्।