ओलीको प्रतिवेदनको सन्देश तल्लो तहसम्म पुर्याउने एमालेको तयारी
918
Shares
काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको सन्देश पार्टीको तल्लो तहसम्म पुर्याउने तयारी गरेको छ। प्रतिवेदनमा समेटिएका विषय तथा पार्टीको आगामी कार्यदिशाबारे नेता–कार्यकर्तामाझ जानकारी गराउने तयारी गरिएको हो।
एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले देशभरबाट संकलन गरेका सुझावलाई समेत प्रतिवेदन प्रक्रियामा समेटिएको छ। कार्यदलले विभिन्न समूह तथा प्रदेश तहबाट प्राप्त सुझावलाई एकीकृत गर्दै प्रतिवेदन तयार गरेको थियो। ती सुझावलाई प्रतिवेदनको अनुसूचीमा समावेश गरिएको जनाइएको छ।
ओलीले केन्द्रीय कमिटी बैठकमा निर्वाचनपछि पार्टीको अवस्था र परिणामबारे समीक्षा गर्न उठेका आवाजलाई स्वाभाविक भन्दै आफूले त्यसलाई अस्वीकार नगर्ने धारणा राखेका छन्। उनले पार्टीका समस्या पहिचान गर्दै समाधानका लागि नेतृत्व गर्ने जिम्मेवारी रहेको बताएका थिए।
पार्टीभित्र निर्वाचन परिणाम, संगठनको अवस्था र पुनर्गठनबारे विभिन्न सुझाव तथा धारणा आएका छन्। कार्यदलमा समेत पार्टीको नेतृत्व तथा संगठनात्मक संरचनाका विषयमा फरक मत देखिएको थियो। पछि विभिन्न प्रतिवेदनलाई एकीकृत गरी साझा दस्तावेज तयार गरिएको थियो।
अब केन्द्रीय कमिटीबाट पारित तथा अघि बढाइने विषयलाई संगठनका प्रदेश, जिल्ला, पालिका र स्थानीय तहसम्म लैजाने एमालेको तयारी छ। यसमार्फत पार्टीको आगामी कार्यदिशा र अध्यक्षको प्रतिवेदनमा उल्लेखित विषयबारे तल्लो तहका नेता तथा कार्यकर्तालाई जानकारी गराउने योजना रहेको छ।