फोहोर व्यवस्थापन विधेयकलाई व्यवहारिक बनाउन सांसद न्यौपानेको माग
1.2k
Shares
काठमाडौं । प्रतिनिधिसभामा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ पेश भएसँगै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिन थालिएको छ। सांसद न्यौपानेले विधेयक केवल कानुनी दस्तावेजमा सीमित नभई व्यवहारमा लागू हुने गरी कार्यान्वयनमुखी बनाउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद न्यौपानेले फोहोरमैला व्यवस्थापन अहिले स्थानीय तहका लागि प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै स्पष्ट जिम्मेवारी, प्रभावकारी संयन्त्र र आवश्यक स्रोत–साधनको व्यवस्था विधेयकमा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन्।
उनले फोहोरलाई स्रोतबाटै वर्गीकरण गर्ने, पुनःप्रयोग तथा पुनर्चक्रणलाई प्रोत्साहन गर्ने र अन्तिम विसर्जनलाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए। फोहोर व्यवस्थापनमा स्थानीय तह, संघीय सरकार, निजी क्षेत्र तथा नागरिकको भूमिकालाई स्पष्ट पारेर समन्वयात्मक रूपमा अघि बढ्नुपर्ने उनको भनाइ थियो।
फोहोरमैला व्यवस्थापनका लागि कानुन बने पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा विभिन्न सहरमा समस्या दोहोरिँदै आएको छ। त्यसैले नयाँ विधेयकले जिम्मेवारी तोक्ने मात्र नभई अनुगमन, जवाफदेहिता र कार्यान्वयनको स्पष्ट व्यवस्था गर्नुपर्ने सांसद न्यौपानेले बताएका छन्।
सरकारले यसअघि नै शहरी विकास विधेयक र फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संघीय संसदमा पेश गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।
फोहोरमैला व्यवस्थापनको दिगो समाधानका लागि स्रोतबाटै फोहोर छुट्याउने, पुनःप्रयोग गर्न मिल्ने वस्तुको पुनर्चक्रण गर्ने र बाँकी फोहोरलाई सुरक्षित रूपमा अन्तिम व्यवस्थापन गर्ने प्रणालीलाई प्रभावकारी मानिँदै आएको छ।