काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व परिवर्तनको विषय तत्कालका लागि स्थगित भएको छ। पार्टीभित्र नेतृत्व पुनर्गठनको माग उठे पनि कार्यदलले तयार पारेको अन्तिम प्रतिवेदनमा नेतृत्व परिवर्तनको प्रस्ताव समावेश गरिएको छैन।
महासचिव शंकर पोखरेलसहित केही नेताले पार्टीको नीति, संगठन र नेतृत्वमा पुनर्गठन आवश्यक रहेको धारणा राखेका थिए। तर उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलले तत्काल नेतृत्व परिवर्तनको विषयलाई प्रतिवेदनबाट हटाएर प्रदेश तथा अन्य संगठनबाट आएका सुझावलाई अनुसूचीमा राख्ने सहमति गरेको थियो।
केन्द्रीय कमिटी बैठकमा भने पार्टीको निर्वाचनमा पराजय, संगठन पुनर्निर्माण, नीति तथा नेतृत्वको विषयमा छलफल भएको छ। नेतृत्व परिवर्तनको विषय तत्काल निर्णयमा नलगी आगामी विधान महाधिवेशनमा छलफल गर्ने प्रस्ताव अघि सारिएको छ।
अध्यक्ष ओलीले पनि आफूले पदबाट हट्ने संकेत गरेका छैनन्। उनले पार्टी पुनर्गठनलाई नेतृत्व परिवर्तनसँग मात्र जोड्न नहुने बताएका छन्।
यससँगै एमालेमा ओलीको नेतृत्व तत्काल बदल्ने सम्भावनाको अध्याय हाललाई रोकिएको देखिएको छ।