काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधन बल्खुमै रोकिएका छन्।
निरन्तरको वर्षाका कारण धादिङ क्षेत्रमा सडकमा पहिरो खसेपछि पृथ्वी राजमार्गका दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने अन्य पाँच स्थानमा एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भइरहेको छ। यसका कारण काठमाडौँबाट धादिङ, चितवन, पोखरा, गोरखालगायतका जिल्लातर्फ जाने सवारीसाधनको आवागमन प्रभावित भएको हो।
सडक अवरुद्ध भएपछि लामो दूरीका यात्रुवाहक बस, मालवाहक ट्रक तथा अन्य सवारीसाधन बल्खु क्षेत्रमा रोकिएका छन्। यात्रुहरू गन्तव्यतर्फ जान नपाएपछि बल्खु क्षेत्रमा सवारीसाधनको चाप बढेको छ।
लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको विभिन्न स्थानमा पहिरो तथा सडकमा माटो–ढुंगा खस्ने जोखिम रहेकाले यात्रामा सावधानी अपनाउन आग्रह गरिएको छ। सडकको अवस्था हेरेर अवरुद्ध सडक खुलाउने तथा सुरक्षित रूपमा सवारी सञ्चालन गराउने प्रयास भइरहेको छ।
यसैबीच, वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने अन्य सडकखण्डसमेत प्रभावित भएका छन्। जोखिम बढेपछि सम्बन्धित निकायले सडकको अवस्था हेरेर सवारीसाधन सञ्चालन तथा रुट व्यवस्थापन गरिरहेका छन्।