कर्णालीका विभिन्न जिल्लामा पहिरो, पाँच सडकखण्ड बन्द

1.1k Shares

सुर्खेत । पहिरोका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाका पाँच सडकखण्ड अवरुद्ध भएका छन्। शनिबार बिहानसम्म दैलेख, कालिकोट, हुम्ला, मुगु र जाजरकोटका सडकखण्डमा पहिरो खसेपछि यातायात प्रभावित भएको हो।

दैलेख–कालिकोट सडकखण्डअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा माथिबाट लेदोसहितको पहिरो खसेपछि कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि उक्त मार्गमा चल्ने सवारीसाधन प्रभावित भएका छन्।

त्यस्तै, कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड–खच्चा क्षेत्रमा पहिरो गएपछि सडक बन्द भएको प्रहरीले जनाएको छ।

मुगुको नाग्मा–गमगढी सडकखण्डअन्तर्गत रारा जाने मार्गको झारीखोलामा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ। वर्षा जारी रहेकाले उक्त क्षेत्रमा थप पहिरोको जोखिमसमेत रहेको छ।

जाजरकोटको छेडागाड नगरपालिका–४ लेवाभीरस्थित छेडाथलह भित्री सडकखण्डमा माथिबाट ढुंगा र लेदोसहितको पहिरो खसेको छ। पहिरोका कारण छेडा–थलह सडक पूर्णरूपमा अवरुद्ध भएको जनाइएको छ।

लगातारको वर्षाका कारण कर्णालीका विभिन्न सडकमा पहिरो खस्ने क्रम बढेको छ। सडक अवरुद्ध भएका स्थानमा पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

 
सम्बन्धित समाचार