मौसम बिग्रिएपछि कांग्रेसले फेर्‍यो क्षेत्रीय अधिवेशनको मिति

988 Shares

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको कार्यतालिका संशोधन गरेको छ। लगातारको वर्षा तथा मौसम प्रतिकूल भएपछि अधिवेशनका लागि थप तीन दिनको समय दिइएको हो।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि असोज १० गतेका लागि क्षेत्रीय अधिवेशनको निर्वाचन कार्यक्रम तय गरेको थियो। तर विभिन्न जिल्लामा भारी वर्षाका कारण अधिवेशन प्रक्रिया प्रभावित भएपछि मौसमअनुकूल क्षेत्रमा तोकिएकै मितिमा र प्रतिकूल मौसम भएका क्षेत्रमा समन्वय गरी असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मौसम प्रतिकूलताका कारण क्षेत्रीय अधिवेशनका लागि तीन दिन थप गरिएको हो। यससँगै सम्बन्धित जिल्ला र क्षेत्रका पार्टी कार्यसमितिले स्थानीय मौसमको अवस्था हेरेर अधिवेशनको मिति तय गर्न सक्नेछन्।

कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न गरिसकेको छ भने विभिन्न जिल्लामा पालिका अधिवेशन पनि जारी रहेको जनाएको छ। भारी वर्षाका कारण केही स्थानमा अधिवेशन प्रक्रिया प्रभावित भएपछि निर्वाचन समितिले यस्तो लचकता अपनाएको हो।

केन्द्रीय महाधिवेशन भने पूर्वनिर्धारित असोज १६ देखि १९ गतेसम्म नै गर्ने कांग्रेसको कार्यतालिका छ।

 
 
 
सम्बन्धित समाचार