सुर्खेत । सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित विष्णुबहादुर खड्का यसपटक क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि बन्न खोज्दा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको छ ।
वीरेन्द्रनगर ७ बाट प्रतिनिधि छनाेट भएका सांसद खड्का, पूर्वमन्त्री हृदयराम थानी, कांग्रेस जिल्ला सचिव टोपबहादुर रावत, कांग्रेस प्रदेश महामन्त्री निरञ्जन केसिले सुर्खेत २ मा नयाँ गुट सिर्जना गरेका छन् । अर्को गुटमा विगतदेखि नै गगन थापा पक्षधर भनिँदै आएका केन्द्रीय सदस्यद्वय जानकी सिंह, तीर्थजंग शाही, पूर्वमन्त्री शिवराज जोशी, पूर्व जिल्ला सभापति कमलराज रेग्मी, पूर्व मेयरद्वय देवकुमार सुवेदी र उपेन्द्र थापा, प्रतिनिधि सभाका उम्मेदवार नारायण काेइरालाको अर्को गुट खडा भएको छ ।
दुई गुटबीचको मतभेदका कारण हालसम्म महाधिवेशन प्रतिनिधि छनौट हुन नसक्दा नेता कार्यकर्तामा अन्याेलता देखिएको छ भने प्रतिनिधि चयनका लागि पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा असोज ११ गतेदेखि नेता कार्यकर्ताहरु अलमलमा परेका छन् । कांग्रेस वृत्तमा महाधिवेशन प्रक्रियामा भाग नै नलिएका कार्यवाहक उपसभापति पूर्णबहादुर खड्काका सहोदर भाए खड्का र थानीबीचको सहकार्यलाई स्वार्थको गठजोडका रुपमा कार्यकर्ताले लिन थालेका हुन् ।
‘निर्वाचन क्षेत्र १ बाट सांसद हुने तर २ बाट महाधिवेशन प्रतिनिधि बन्न खोज्दै गुट जमाउन खोज्नु माननीयज्यूको क्रियाकलाप ठिक देखिएन,’ महाधिवेशन प्रतिनिधिका दावेदार एक नेता भन्छन्, ‘उहाँको र हृदयराम थानीज्यूको कस्तो खालको तालमेल हो, कसैले बुझ्न सकेका छैनौँ ।’
उता, कानेपाली काँग्रेस १५ औँ महाधिवेशन जिल्ला निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत उक्त प्रसाद आचार्यले आज निर्वाचन कार्यक्रम स्थगन गरिएको सूचना जारी गरेसँगै सुर्खेत–२ बाट प्रतिनिधि छनौटमा देखिएको भद्रगोल छरपस्ट भएको हो ।