काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै आकर्षक र परिवर्तनमुखी नारा अघि सारेको छ । कांग्रेसले महाधिवेशनको मूल भावका रूपमा ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ तथा नारा ‘समुन्नत नेपालका लागि सबल कांग्रेस, अबको विकल्प’ तय गरेको छ ।
महाधिवेशनको नाराले समुन्नत नेपाल निर्माण, सबल कांग्रेस र पार्टीलाई आगामी राजनीतिक विकल्पका रूपमा प्रस्तुत गर्ने सन्देश दिएको छ । तर नारामा परिवर्तन र नयाँपनको प्रतिबद्धता व्यक्त गरिए पनि पार्टीको संगठनात्मक अवस्था, नेतृत्वको कार्यशैली र विगतका अभ्यासमा अपेक्षित रूपान्तरण हुन नसकेको विषय कांग्रेसभित्रै बहसको विषय बनेको छ ।
कांग्रेसले यसअघि पनि सुशासन, समृद्धि, रोजगारी, आर्थिक विकास तथा राजनीतिक रूपान्तरणलाई केन्द्रमा राख्दै विभिन्न आकर्षक नारा र प्रतिबद्धता अघि सार्दै आएको छ । घोषणापत्र तथा राजनीतिक दस्तावेजमा महत्वाकांक्षी कार्यक्रम समेटिए पनि तिनको प्रभावकारी कार्यान्वयन चुनौतीका रूपमा देखिँदै आएको छ ।
पार्टीले पछिल्लो समय आफूलाई बदलिएको र नयाँ पुस्ताको अपेक्षाअनुसार अघि बढ्ने दाबी गर्दै आएको छ । विशेषगरी सुशासन, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह सुधार र आर्थिक समृद्धिका विषयलाई प्राथमिकतामा राखिएको छ ।
तर कांग्रेसको १५औँ महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा संगठनात्मक एजेन्डाले नारामा उल्लेख गरिएको ‘परिवर्तन’ व्यवहारमा कति प्रतिबिम्बित गर्छ भन्ने प्रश्न महत्वपूर्ण बनेको छ । महाधिवेशनले नेतृत्व, संगठन र कार्यशैलीमा परिवर्तनको स्पष्ट दिशा दिन सक्छ वा सक्दैन भन्ने विषयमा पार्टीभित्र र बाहिर चासो बढेको छ ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । महाधिवेशनका लागि पार्टीले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ लाई मूल भाव बनाएको छ ।