संघीय निजामती विधेयक प्रतिनिधिसभामा दर्ता, ५५ वर्षमै अनिवार्य अवकाशको प्रस्ताव

1.1k Shares

काठमाडौँ । सरकारले संघीय निजामती सेवासम्बन्धी विधेयक संघीय संसद्को प्रतिनिधिसभामा दर्ता गरेको छ।

मन्त्रिपरिषद्को गत मंगलबार बसेको बैठकले विधेयक संसद्मा पेस गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुमति दिएपछि सम्बन्धित मन्त्रालयका तर्फबाट विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको हो।

प्रस्तावित विधेयकमा निजामती कर्मचारीको अनिवार्य अवकाशसम्बन्धी नयाँ व्यवस्था अघि सारिएको छ। विधेयकको मस्यौदामा ५५ वर्ष उमेर पुगेका वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्ताव गरिएको छ।

हाल कायम रहेको निजामती सेवासम्बन्धी व्यवस्थाभन्दा कम उमेरमै कर्मचारीलाई अवकाश दिने प्रस्ताव विधेयकमा राखिएको हो। सरकारले कर्मचारीको सेवा अवधि, अवकाश र पेन्सन व्यवस्थालाई समेत नयाँ ढंगले व्यवस्थापन गर्ने गरी कानुनी प्रबन्ध प्रस्ताव गरेको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ५५ वर्षको उमेरमा अनिवार्य अवकाश पाउने कर्मचारीलाई पेन्सन सुविधामा समेत विशेष व्यवस्था प्रस्ताव गरिएको छ।

प्रस्तावित व्यवस्थाअनुसार ५५ वर्षमै अवकाश पाउने कर्मचारीको पेन्सन प्रयोजनका लागि ५८ वर्ष सेवा गरेको मानेर सुविधा उपलब्ध गराउने व्यवस्था राखिएको मन्त्रालयले जनाएको छ।

विधेयक प्रतिनिधिसभामा दर्ता भएसँगै अब यसको प्रक्रिया संसद्को सम्बन्धित समितिमा अघि बढ्नेछ। संसद्मा हुने छलफल, संशोधन र पारित हुने प्रक्रियापछि मात्रै प्रस्तावित व्यवस्था अन्तिम कानुनी स्वरूपमा आउनेछ।

सम्बन्धित समाचार