भारतीय राजदूत श्रीवास्तव आज फर्किँदै, उनको ठाउँमा को आउँछन् ?

1.1k Shares

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो चारवर्षे कार्यकाल पूरा गरी आज भारत फर्किँदैछन्। उनले सन् २०२२ जुन २५ देखि नेपालका लागि भारतीय राजदूतका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए।

श्रीवास्तवले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग बिदाइ भेट गरेका थिए। भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहयोग तथा द्विपक्षीय विषयमा छलफल भएको थियो। प्रधानमन्त्री शाहले उनको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै आगामी दिनका लागि शुभकामना दिएका थिए।

श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल र भारतबीच विभिन्न विकास परियोजना अघि बढाउन सहयोग भएको उल्लेख गर्दै नेपाल सरकार तथा नेपाली जनताबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।

यसैबीच, श्रीवास्तवको कार्यकाल सकिएपछि नेपालका लागि भारतले नयाँ राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढाउनेछ। तत्काल नयाँ राजदूतको नाम सार्वजनिक भइसकेको छैन। श्रीवास्तवले प्रधानमन्त्री शाहसँगको भेटमा आफूले थालेका कतिपय विषयलाई आफ्नो उत्तराधिकारीले अघि बढाउने संकेत गरेका थिए।

नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त नभएसम्म दूतावासको नियमित कामकारबाही कार्यवाहक नेतृत्वबाट सञ्चालन हुने अपेक्षा गरिएको छ।

श्रीवास्तवको कार्यकाल सकिनु र नयाँ राजदूत आउने प्रक्रियाबीच प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणको विषय पनि चर्चामा छ। परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका लागि तयारी भइरहेको भए पनि भ्रमणको मिति भने अझै तय भएको छैन।

यसअघि श्रीवास्तवले नेपालमा करिब चार वर्ष राजदूतका रूपमा काम गरेका थिए। उनी भारतीय विदेश सेवाबाट अवकाश लिएर भारत फर्किन लागेका हुन्।

 
 
 
सम्बन्धित समाचार