अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने प्रस्ताव

1k Shares

काठमाडौं । सरकारले निजामती सेवाअन्तर्गत पर्ने काममा ज्यालादारी वा करारमा कर्मचारी नियुक्त गर्ने व्यवस्थालाई कडाइ गर्ने प्रस्ताव अघि सारेको छ। सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती कर्मचारी विधेयकमा विशेष अवस्थाबाहेक यस्तो नियुक्ति गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको हो।

प्रतिनिधिसभामा बिहीबार (असोज १५) पेस गरिएको विधेयकअनुसार निजामती कर्मचारीबाट सम्पादन गर्नुपर्ने कामका लागि विशेष अवस्थाबाहेक ज्यालादारी वा करारमा कुनै व्यक्तिलाई नियुक्त गर्न नपाइने व्यवस्था गरिएको छ।

विधेयकमा कानुनविपरीत ज्यालादारी वा करारमा कर्मचारी नियुक्त गरिएमा त्यस्तो नियुक्ति स्वतः बदर हुने प्रावधान राखिएको छ।

त्यसरी गैरकानुनी रूपमा नियुक्त गरिएका व्यक्तिलाई तलब, भत्ता वा अन्य सुविधा उपलब्ध गराइएको अवस्थामा उक्त रकम नियुक्ति गर्ने अधिकारीबाटै असुलउपर गरिने व्यवस्था पनि विधेयकमा समेटिएको छ।

सरकारी निकायमा आवश्यकताभन्दा बाहिर गएर करार तथा ज्यालादारी कर्मचारी नियुक्त गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने उद्देश्यले यस्तो प्रावधान प्रस्ताव गरिएको जनाइएको छ।

प्रस्तावित विधेयक संसदबाट पारित भएर कानुनी रूप लिएमा निजामती सेवाअन्तर्गतका नियमित प्रकृतिका काममा करार तथा ज्यालादारी कर्मचारी नियुक्त गर्ने अभ्यासमा थप नियन्त्रण हुने देखिन्छ।

यद्यपि, विधेयकमा विशेष अवस्थाका लागि भने यस्तो नियुक्तिको बाटो खुला राखिएको छ। त्यसका लागि तोकिएका कानुनी व्यवस्था र प्रक्रियाअनुसार मात्रै कर्मचारी नियुक्त गर्नुपर्ने प्रावधान प्रस्ताव गरिएको छ।

सम्बन्धित समाचार