मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध थप नचर्काउन पश्चिमा मुलुकहरूलाई चेतावनी दिँदै कालिनिनग्रादमाथि आक्रमण भए रुसले आफ्ना सबै हतियार प्रयोग गर्न सक्ने बताएका छन्।
मस्कोमा बिहीबार आयोजित वाल्दाई डिस्कसन क्लबलाई सम्बोधन गर्दै पुटिनले कुनै पनि युरोपेली मुलुकमाथि आक्रमण गर्ने रुसको योजना नरहेको बताए। तर, पोल्यान्ड र लिथुआनियाको बीचमा रहेको रुसी भूभाग कालिनिनग्रादलाई लक्षित गरिए त्यसको जवाफ दिन रुस तयार रहेको उनको भनाइ थियो।
कालिनिनग्रादमाथि खतरा उत्पन्न भए रुसले आवश्यक परे सबै हतियार प्रयोग गर्ने विषय स्वाभाविक रूपमा अघि आउने पुटिनले बताए। नाटोले कालिनिनग्राद आसपास सञ्चालन गरेका पछिल्ला सैन्य अभ्यास र रुसी जल तथा हवाई गतिविधिमाथि भइरहेको निगरानीप्रति मस्कोले आपत्ति जनाउँदै आएको छ।
रुसले गत सेप्टेम्बरको अन्त्यतिर पनि नाटोले जल वा हवाई मार्गबाट कालिनिनग्रादको घेराबन्दी गर्ने प्रयास गरे कडा प्रतिशोध लिने चेतावनी दिएको थियो। पुटिनले बाल्टिक क्षेत्रमा भइरहेका सैन्य अभ्यास तथा रुसी जहाज नियन्त्रणमा लिने प्रयासलाई तनाव बढाउने गतिविधिका रूपमा व्याख्या गरेका छन्।
युक्रेनमाथि रुसले सन् २०२२ फेब्रुअरीमा सुरु गरेको पूर्णस्तरको आक्रमण पाँचौँ वर्षमा प्रवेश गरेको छ। युद्ध लम्बिँदै जाँदा रुस र युक्रेनबीच मात्र नभई रुस तथा पश्चिमा मुलुकबीचको तनाव पनि बढिरहेको छ।
पुटिनले युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा गरेका ड्रोन आक्रमणले रुसको अर्थतन्त्रमा असर पारेको स्वीकार गरेका छन्। उनका अनुसार ती आक्रमणका कारण रुसको कुल गार्हस्थ्य उत्पादनमा करिब एक प्रतिशत क्षति पुगेको छ।
यसैबीच, युक्रेनले रुसी भूभागभित्र लामो दूरीका ड्रोन आक्रमणलाई निरन्तरता दिइरहेको छ। पुटिनले युक्रेन युद्धबाट पछि हट्ने संकेत नदिए पनि वार्तामार्फत द्वन्द्व अन्त्य गर्ने विकल्पप्रति रुस खुला रहेको बताएका छन्।
रुसी बजेटसम्बन्धी दस्ताबेजलाई उद्धृत गर्दै समाचारमा सन् २०२७ मा रुसले रक्षा क्षेत्रमा १७.१ ट्रिलियन रुबल खर्च गर्ने योजना बनाएको उल्लेख छ, जुन हालसम्मकै उच्च स्तरमध्ये एक हो।