राठौरद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा, सर्वसम्मतिको प्रयासप्रति असहमति

708 Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। कांग्रेसमा गगन थापालाई सभापतिमा सर्वसम्मत बनाउने प्रयास भइरहेका बेला राठौरले आफू प्रतिस्पर्धाबाट पछि नहट्ने स्पष्ट पारेका हुन्।

५७ वर्षीय राठौर विद्यार्थी राजनीतिबाट कांग्रेसको मूलधारमा आएका नेता हुन्। उनी १२औँ र १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्य तथा १४औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका थिए। यसपटक भने उनले सभापति पदमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।

‘गगनजी मात्रै निर्विकल्प नेता होइनन्’

राठौरले कांग्रेसमा सभापतिसहित अन्य पदमा निर्वाचन हुने अवस्थामा एउटा पदमा मात्रै सर्वसम्मतिको प्रयास गर्नु उचित नभएको बताएका छन्। कांग्रेसको नेतृत्व चयनमा प्रतिस्पर्धाको परम्परा रहेको उल्लेख गर्दै उनले आफूलाई पनि सभापतिमा प्रतिस्पर्धा गर्ने अधिकार रहेको बताए।

‘गगनजी मात्रै निर्विकल्प लिडर त होइन नि कांग्रेसको। हाम्रो पनि ४० वर्षभन्दा लामो लगानी यो पार्टीमा छ,’ राठौरले भने।

विशेष महाधिवेशनमा सहभागी नहुनुको कारण

गत पुसमा भएको कांग्रेसको विशेष महाधिवेशनमा सहभागी नभएका राठौरले त्यसबेला पार्टीभित्रको विवाद थप चर्काउनुको सट्टा एकताबद्ध भएर निर्वाचनमा केन्द्रित हुनुपर्ने धारणा राखेका थिए।

पार्टी कार्यालयमा आक्रमण, नेताहरू लखेटिने तथा कुटपिटसम्मका घटना भएको अवस्थामा विशेष महाधिवेशनले समस्या समाधान गर्नुको साटो पार्टीमा थप विभाजन ल्याउन सक्ने उनको बुझाइ थियो।

त्यसैले उनले गगन थापानिकट नेतामार्फत विवादलाई थाती राखेर निर्वाचनमा केन्द्रित हुन प्रस्ताव पठाएको बताए। थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै कांग्रेस एकताबद्ध भएर निर्वाचनमा जानुपर्ने आफ्नो प्रस्ताव रहेको राठौरको भनाइ छ।

देउवा समूह छाडेको दाबी

लामो समय शेरबहादुर देउवानिकट रहेर राजनीति गरेका राठौरले गत माघदेखि आफू देउवा समूहबाट अलग भएको बताएका छन्। गगन थापा नेतृत्वको कांग्रेसले पार्टीको चुनाव चिह्न र झण्डा पाएपछि आफूले देउवाको साथ छाडेको उनको भनाइ छ।

तर आफू कुनै अर्को समूहमा नलागेको उनले स्पष्ट पारे।

‘मैले कांग्रेस पार्टी छोडेको छैन, चारतारे झण्डा र रुख चिह्न छोडेको छैन,’ राठौरले भने, ‘म कसैका पछि लागेको होइन। म स्वयं आफैँ नेता हुँ। कसैका पछि लाग्नुपर्ने के जरुरी छ र?’

पार्टी एकता, कार्यकर्तालाई न्याय र अनुशासन मुख्य एजेन्डा

राठौरले आफ्नो अभियानलाई तीन मुख्य विषयमा केन्द्रित गर्ने बताएका छन्। पार्टी एकता, कार्यकर्तालाई न्याय र संगठनमा अनुशासनलाई उनले प्रमुख एजेन्डा बनाएका छन्।

कांग्रेसभित्र लामो समयदेखि घात–अन्तर्घातको संस्कार मौलाएको दाबी गर्दै उनले राजनीतिलाई पद, पैसा र शक्तिसँग जोड्ने प्रवृत्तिप्रति असहमति जनाए। गलत राजनीतिक संस्कारविरुद्ध आफू निरन्तर आवाज उठाउँदै आएको उनको दाबी छ।

‘म जति राजनीति गर्छु, गलत प्रवृत्ति र गलत संस्कारविरुद्ध लड्छु,’ उनले भने।

विभाजित कांग्रेसलाई एकताबद्ध गर्नुपर्नेमा जोड

राठौरले कांग्रेसका दुवै पक्षलाई एक ठाउँमा ल्याउनुपर्नेमा जोड दिएका छन्। शेरबहादुर देउवा समूहले समेत मंसिरमा महाधिवेशन गर्ने तयारी गरिरहेको अवस्थामा पार्टी विभाजनलाई निरन्तरता दिन नहुने उनको धारणा छ।

संवाद, छलफल र सामूहिक निष्कर्षमार्फत कांग्रेसलाई पुनः एकताबद्ध गर्नुपर्ने उनले बताए। वामपन्थी दलहरूबीच एकताको प्रयास भइरहेका बेला कांग्रेस विभाजित भएर निर्वाचनमा गए पार्टीलाई असर पर्न सक्ने उनको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको दबाबसमेत बढिरहेको उल्लेख गर्दै राठौरले कांग्रेसले संगठन र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताए।

‘कांग्रेस पुरानो ढर्रा र पुरानो शैलीबाट अगाडि बढ्न सक्दैन,’ उनले भने, ‘नयाँ सोच, नयाँ कार्यशैली र नयाँ जीवनशैलीको आवश्यकता छ।’

सम्बन्धित समाचार