कांग्रेस महाधिवेशनमा स्वास्थ्य सेवा तयारी, ३० स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क सञ्चालन हुने

624 Shares

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको स्वास्थ्य सेवाका लागि ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क सञ्चालन गरिने भएको छ।

महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार खुलामञ्चको पश्चिमतर्फ पाँच वटा स्टलसहित हेल्थ डेस्क स्थापना गरिएको छ। त्यहाँबाट प्रतिनिधिहरूको सामान्य स्वास्थ्य परीक्षणसँगै आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।

हेल्थ डेस्क दुई सिफ्टमा सञ्चालन हुने जनाइएको छ। डेस्कमा चिकित्सक, पारामेडिक्स तथा नर्ससहितका स्वास्थ्यकर्मी खटिनेछन्। स्वास्थ्य परीक्षणका साथै रक्तचाप र रक्तचिनी जाँच तथा सिटामोल, जीवनजल र घाउचोटमा प्रयोग हुने औषधिलगायत अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइनेछ।

आकस्मिक उपचारका लागि तीन अस्पतालमा व्यवस्था

महाधिवेशनका क्रममा प्रतिनिधिलाई तत्काल अस्पताल लैजानुपर्ने अवस्था आएमा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र वसुन्धरास्थित बीपी स्मृति अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ।

त्यसका लागि महाधिवेशनस्थलमै दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. केसीले जानकारी दिए।

रातिसमेत स्वास्थ्य सेवा उपलब्ध हुने

प्रतिनिधिलाई रातिको समयमा स्वास्थ्य समस्या देखिएमा उपचारका लागि ‘अन कल’ सेवा उपलब्ध गराइनेछ। होटलमा बसेका प्रतिनिधिलाई स्वास्थ्य समस्या परेमा आवश्यकताअनुसार स्वास्थ्यकर्मी होटलमै पुगेर परीक्षण गर्ने व्यवस्था पनि मिलाइएको छ।

नेपाल स्वास्थ्यकर्मी संघकी उपमहासचिव शोभा उप्रेती खरेलका अनुसार हेल्थ डेस्कबाट आयुर्वेद र एलोपेथिक दुवै प्रकारका स्वास्थ्य सेवा उपलब्ध हुनेछ। प्रतिनिधिहरूको आवश्यकताअनुसार अत्यावश्यक औषधिसमेत हेल्थ डेस्कमै उपलब्ध गराइने उनले बताइन्।

सम्बन्धित समाचार