सिरहा । सिरहामा भारततर्फ लैजान लागिएको ११० किलो ७६० ग्राम लागुऔषध गाँजासहित तीन जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख एसपी सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधारमा शुक्रबार राति करिब १ः३५ बजे औरही गाउँपालिका–१ दरैया क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको १५ सदस्यीय टोलीले नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरूले टाउकोमा बोकेर लैजाँदै गरेको ६ वटा बोराबाट गाँजा बरामद गरिएको थियो।
प्रहरीका अनुसार बरामद गाँजाको कुल तौल ११० किलो ७६० ग्राम रहेको छ।
पक्राउ पर्नेमा औरही गाउँपालिका–२ देउरीपट्टीका ४३ वर्षीय मिश्रीलाल सदाय, सोही स्थानका ३१ वर्षीय मनिकलाल सदाय र धनगढीमाई नगरपालिका–५ का ३३ वर्षीय श्यामसुन्दर यादव रहेका छन्। उनीहरूको साथबाट तीन थान मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई बरामद गाँजा तथा मोबाइलसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको एसपी थापाले जानकारी दिए।