काठमाडौं । भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै नयाँदिल्लीस्थित जन्तर–मन्तरमा शनिबार पनि प्रदर्शनको आह्वान गरिएको छ।
अल इन्डिया स्टुडेन्ट्स एशोसिएसनकी राष्ट्रिय अध्यक्ष नेहा बोराले शनिबार दिउँसो १ बजे जन्तर–मन्तरमा भेला हुन आह्वान गरेकी छन्।
यसैबीच, ककरोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीपकेले पनि यही विषयलाई लिएर आगामी १० अक्टोबरमा दिल्लीमा प्रदर्शन गर्ने घोषणा गरेका छन्।
यसअघि शुक्रबार विपक्षी दल तथा वामपन्थी विद्यार्थी संगठनसँग आबद्ध व्यक्तिहरू जन्तर–मन्तरमा भेला भएका थिए। तर दिल्ली प्रहरीले मुख्य जन्तर–मन्तर क्षेत्रमा प्रदर्शनका लागि अनुमति नदिएको जनाइएको छ।
प्रशासनले नयाँदिल्लीका विभिन्न क्षेत्रमा भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ लागू गर्दै निषेधाज्ञासमेत जारी गरेको थियो। बीबीसीका संवाददाता दिलनवाज पाशाका अनुसार शुक्रबार जन्तर–मन्तर पुग्नुअघि नै प्रहरीले सयौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो।
ज्ञानेश कुमारको राजीनामाको मागलाई लिएर सीजेपीले मुम्बईको शिवाजी पार्कमा समेत प्रदर्शन गरेको जनाएको छ। विपक्षी समूह तथा विद्यार्थी संगठनहरूले निर्वाचनसम्बन्धी विषयलाई लिएर मुख्य निर्वाचन आयुक्तको भूमिकामाथि प्रश्न उठाउँदै विरोध प्रदर्शन गरिरहेका छन्।