पुनर्निर्माण र आर्थिक सुधारका एजेन्डासहित अमेरिका पुगे अर्थमन्त्री वाग्ले

869 Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका पुगेका छन्। बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि थप सहयोग जुटाउने, नेपाललाई एफएटीएफको ग्रे लिस्टबाट बाहिर निकाल्ने पहल तथा आर्थिक सुधार र लगानी विस्तारका विषयमा छलफल गर्न उनी अमेरिका पुगेका हुन्।

विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा अर्थमन्त्री वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल शुक्रबार राति अमेरिकाको वासिङ्टन डीसी प्रस्थान गरेको थियो। असोज १९ र २० गते अर्थात् अक्टोबर ५ र ६ मा हुने भ्रमणका क्रममा वाग्लेले अमेरिकी सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

अर्थमन्त्रीको सचिवालयका अनुसार भ्रमणका क्रममा नेपाल–अमेरिका द्विपक्षीय सहयोग विस्तार, बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, एफएटीएफको ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्ने प्रयास तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुनेछ।

विश्व बैंक र अमेरिकी निकायका अधिकारीसँग भेट

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय तथा अमेरिकी डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) का उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन्।

हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र विपद्पछिको उत्थानशील विकासका लागि थप सहायता परिचालन गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ।

पूर्वाधारमा लगानी बढाउने विषय प्राथमिकतामा

नेपालमा सडक, विद्युत् प्रसारण लाइनलगायत महत्वपूर्ण पूर्वाधारमा लगानी विस्तार गरी रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने विषयमा समेत विकास साझेदार तथा निजी क्षेत्रसँग सहकार्यका सम्भावना खोजिनेछ।

अर्थमन्त्रीको सचिवालयका अनुसार नेपालमा लगानीको वातावरण सुधार तथा आर्थिक गतिविधि विस्तारका लागि आवश्यक सहयोग र साझेदारीका विषयमा पनि छलफल हुनेछ।

छोटो अन्तरालमै विदेश भ्रमण

अर्थमन्त्री वाग्लेको पछिल्लो समय विदेश भ्रमणको क्रमसमेत तीव्र बनेको छ। उनी असोज १ गते भारतको तीन दिने भ्रमण सकेर नेपाल फर्किएका थिए। त्यसपछि असोज १० गते दोहा गएका वाग्ले असोज १४ गते स्वदेश फर्किएका थिए।

दोहाबाट फर्किएको दुई दिनमै उनी पुनः अमेरिका प्रस्थान गरेका हुन्। अमेरिका भ्रमणपछि उनी सम्भावित रूपमा असोज ३० गते बैंकक जाने तयारीमा रहेको बताइएको छ।

सम्बन्धित समाचार