काठमाडौँ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन काठमाडौं आउने प्रतिनिधि तथा शुभेच्छुकका लागि विभिन्न क्षेत्रका होटलमा बसोबासको व्यवस्था मिलाइएको छ।
आवास व्यवस्थापन समितिले गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलङ्की क्षेत्रका होटलमा प्रतिनिधिका लागि कोठा बुक गरेको हो।
नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघका अध्यक्ष लिलाप्रसाद ढकालका अनुसार करिब १० हजार प्रतिनिधि तथा शुभेच्छुकलाई लक्षित गरी पाँच हजार कोठा व्यवस्थापन गरिएको छ। प्रतिनिधिका लागि सहुलियत दरमा होटल उपलब्ध गराइएको उनले बताए।
व्यवस्थापनअनुसार कोशी र मधेस प्रदेशबाट आउने प्रतिनिधिका लागि गौशाला र कोटेश्वर क्षेत्रमा होटलको व्यवस्था गरिएको छ। बागमती प्रदेशका प्रतिनिधिलाई लाजिम्पाट र ठमेल तथा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिलाई बालाजु र नयाँ बसपार्क क्षेत्रमा राखिनेछ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि सुन्धारा र कलङ्की क्षेत्रमा बसोबासको व्यवस्था गरिएको छ। विदेशस्थित जनसम्पर्क समितिबाट आउने प्रतिनिधिका लागि भने लाजिम्पाट र ठमेलमा होटलको व्यवस्था गरिएको छ।
जिल्ला, जनसम्पर्क समिति तथा भ्रातृ संस्थाबाट आउने महाधिवेशन प्रतिनिधिले होटलको बसोबास खर्च आफैँ व्यहोर्नुपर्ने कांग्रेसले जनाएको छ। विदेशबाट आउने पाहुनाको आवास खर्च भने पार्टीले व्यहोर्ने आवास व्यवस्थापन समितिका संयोजक तथा कांग्रेस केन्द्रीय सदस्य रमेशप्रसाद धमलाले जानकारी दिए।
महाधिवेशन अवधिभर प्रतिनिधिका लागि बिहान र दिउँसोको खाना भने पार्टीले भृकुटीमण्डपमा उपलब्ध गराउने व्यवस्था गरेको छ।
बसोबासका क्रममा कुनै समस्या आएमा नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघले सहजीकरण गर्ने जनाइएको छ।
कांग्रेसले आफ्नो वेबसाइटमा होटलको नाम, क्षेत्र र मूल्यसम्बन्धी विवरणसमेत सार्वजनिक गरेको जनाएको छ। १५औँ राष्ट्रिय महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ।