काठमाडौं । काठमाडौं उपत्यकाको यातायात व्यवस्थालाई दीर्घकालीन रूपमा व्यवस्थित, सुरक्षित र दिगो बनाउने लक्ष्यसहित सन् २०५० सम्मको यातायात विकासको खाका अघि सारिएको छ। प्रस्तावित योजनाअनुसार उपत्यकामा मेट्रो रेल, सुरुङमार्ग, फ्लाइओभर, अन्डरपास तथा नयाँ पुल निर्माण गरिनेछ।
यातायात गुरुयोजनामा रत्नपार्कदेखि भक्तपुरसम्म करिब १४.६ किलोमिटर लामो मेट्रो रेल सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। यसको केही भाग भूमिगत र केही भाग एलिभेटेड संरचनामा निर्माण गर्ने अवधारणा अघि सारिएको छ। कोटेश्वर क्षेत्रमा मेट्रोको केही खण्ड भूमिगत बनाउने योजना छ।
त्यस्तै, गौशाला–चाबहिल क्षेत्रको सडकलाई सुरुङमार्गमार्फत व्यवस्थापन गर्ने, महाराजगन्जलगायतका व्यस्त चोकमा अन्डरपास निर्माण गर्ने तथा आवश्यक स्थानमा फ्लाइओभर र स्काइरोड बनाउने प्रस्ताव गरिएको छ।
उपत्यकाका नदी करिडोरलाई समेत यातायात सञ्जालसँग जोड्ने योजना छ। बागमती, विष्णुमती, धोबीखोला र कर्मनासा नदीमा नयाँ पुल निर्माण तथा विद्यमान पुलहरूको स्तरोन्नति गर्ने प्रस्ताव गरिएको छ। थापाथली–त्रिपुरेश्वर क्षेत्रमा नयाँ नदी करिडोर सडक तथा विभिन्न स्थानमा थप पुल निर्माणको अवधारणा छ।
योजनाले रिङरोडमा उच्च क्षमताको सार्वजनिक यातायात तथा बस र्यापिड ट्रान्जिट (बीआरटी) सञ्चालनलाई पनि प्राथमिकता दिएको छ। सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन हालका धेरै यातायात समितिलाई सीमित ठूला कम्पनीमा रूपान्तरण गरी सेवा सञ्चालनलाई एकीकृत गर्ने प्रस्तावसमेत गरिएको छ।
त्यसैगरी, प्रमुख चोक तथा सडकखण्डको सुधार, साइकल लेन निर्माण, पार्किङ पूर्वाधार विस्तार र पैदलयात्रुमैत्री संरचनाको विकास गर्ने योजना छ। ठमेल, काठमाडौं दरबार क्षेत्र र पाटन दरबार क्षेत्रजस्ता स्थानमा निजी सवारीसाधन नियन्त्रण गरी ‘कार–फ्री’ क्षेत्र विकास गर्ने अवधारणा पनि अघि सारिएको छ।
यातायात विज्ञ तथा सरोकारवालाका अनुसार तीव्र सहरीकरण र बढ्दो सवारी चापलाई ध्यानमा राखेर दीर्घकालीन तथा एकीकृत यातायात पूर्वाधार विकास आवश्यक छ। प्रस्तावित गुरुयोजना कार्यान्वयनमा आएमा आगामी दशकहरूमा काठमाडौं उपत्यकाको यातायात संरचना अहिलेको भन्दा निकै फरक र आधुनिक बन्ने अपेक्षा गरिएको छ।
तर यी योजनाहरू कार्यान्वयनमा जानुअघि विस्तृत सम्भाव्यता अध्ययन, प्राविधिक डिजाइन तथा आवश्यक स्वीकृति पूरा गर्नुपर्नेछ। गुरुयोजनालाई अन्तिम रूप दिएर सरकारसमक्ष स्वीकृतिका लागि पेस गर्ने प्रक्रिया अघि बढाइएको छ।