नेपाली कांग्रेसको १५औँ महाधिवेशन : उद्घाटनदेखि निर्वाचनसम्मका सबै गतिविधि एकै ठाउँमा

1.8k Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौंको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चमा उद्घाटन हुँदैछ। ‘नयाँ कांग्रेस, नयाँ संकल्प’ भन्ने नाराका साथ हुन लागेको महाधिवेशनमा ५० हजारभन्दा बढी युवा तथा ७ हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने कांग्रेसले जनाएको छ।

महाधिवेशनको उद्घाटन समारोह आइतबार दिउँसो २ बजे सुरु हुनेछ। कांग्रेसका सभापति गगनकुमार थापाले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले समेत उद्घाटन समारोहलाई सम्बोधन गर्ने बताइएको छ।

महाधिवेशनका लागि प्रतिनिधिहरूको दर्ता प्रक्रिया शनिबारदेखि नै सुरु भएको छ। प्रदेशअनुसार छुट्टाछुट्टै दर्ता कक्षको व्यवस्था गरिएको छ। दर्ता भएका प्रतिनिधिलाई पार्टीको विधान, कापी, कलमलगायत सामग्रीसहितको महाधिवेशन झोला उपलब्ध गराइएको छ। प्रतिनिधिले दर्ताका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

बन्दसत्रमा नीति तथा कार्यक्रममाथि छलफल

उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गर्नेछन्। भौगोलिक समूहअनुसार तीनवटा हलमा डिजिटल बोर्डमार्फत प्रतिवेदनमाथि छलफल गर्ने व्यवस्था मिलाइएको छ।

सभापति गगनकुमार थापाले आगामी पाँच वर्षमा कांग्रेसले अघि बढाउने राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा परराष्ट्र नीतिसहितको कार्यपत्र प्रस्तुत गर्ने तयारी छ। उपसभापति विश्वप्रकाश शर्माले समसामयिक विषयमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछन्।

निर्वाचन प्रक्रिया पनि तीव्र

केन्द्रीय निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म राष्ट्रिय सभा गृहमा उम्मेदवारी मनोनयनको समय तोकेको छ। त्यसपछि प्रतिनिधिहरूले निर्वाचन प्रक्रियामा सहभागी हुनेछन्। महाधिवेशनका निर्वाचनसम्बन्धी गतिविधि असोज २१ र २२ गते सञ्चालन हुने कार्यतालिका छ।

निर्वाचन समितिले एउटै अधिवेशन अवधिमा कुनै तहको अधिवेशनमा उम्मेदवार बनेको व्यक्ति सोही अवधिमा अर्को उच्च वा तल्लो तहको समितिको पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था स्पष्ट गरेको छ। त्यस्तै, पदेन महाधिवेशन प्रतिनिधि तथा भ्रातृ एवं शुभेच्छुक संस्थाबाट आएका पदेन प्रतिनिधिहरू केन्द्रीय कार्यसमितिको उम्मेदवार बन्न नपाउने जनाइएको छ।

महाधिवेशनका लागि व्यापक व्यवस्थापन

देशभरबाट आउने प्रतिनिधि तथा शुभेच्छुकका लागि काठमाडौंका गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलंकी क्षेत्रमा होटल बुक गरिएको छ। करिब १० हजार प्रतिनिधि तथा शुभेच्छुकका लागि ५ हजार कोठाको व्यवस्था गरिएको कांग्रेसले जनाएको छ।

महाधिवेशनस्थल र प्रतिनिधिको आवतजावतलाई व्यवस्थित गर्न पार्किङ तथा यातायात व्यवस्थापनसमेत मिलाइएको छ। भृकुटीमण्डप, राष्ट्रिय सभा गृह र पुरानो बसपार्क क्षेत्रमा निजी सवारीसाधन पार्किङको व्यवस्था गरिएको छ भने ठूला बसका लागि माइतीघर–भद्रकाली खण्डको एक लेन प्रयोग गर्ने व्यवस्था गरिएको छ।

कांग्रेसभित्र समानान्तर महाधिवेशनको विवाद

यसपटक कांग्रेसको महाधिवेशन प्रक्रिया भने विवादरहित छैन। संस्थापन पक्षले असोज १८ गतेदेखि महाधिवेशन प्रक्रिया अघि बढाइरहेका बेला शेरबहादुर देउवा पक्षले छुट्टै कार्यतालिका सार्वजनिक गर्दै मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने जानकारी निर्वाचन आयोगलाई गराइसकेको छ। यसले कांग्रेसभित्र महाधिवेशनको वैधानिकता र आधिकारिकताबारे विवाद थप चर्किएको छ।

कांग्रेसको १५औँ महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक, आर्थिक तथा संगठनात्मक दिशा तय गर्ने अपेक्षा गरिएको छ। पार्टीले यसपटक नेतृत्व चयनभन्दा नीति तथा कार्यक्रमलाई विशेष प्राथमिकता दिने दाबी गरेको छ।

सम्बन्धित समाचार