काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ। महाधिवेशन उद्घाटनका लागि कांग्रेसले आवश्यक तयारी पूरा गरेको जनाएको छ।
महाधिवेशन उद्घाटनका लागि कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवालाई समेत निमन्त्रणा गरेको छ। देउवा उद्घाटन समारोहमा उपस्थित नभए सभापति गगनकुमार थापाले महाधिवेशन उद्घाटन गर्ने तयारी रहेको कांग्रेस नेताहरूले बताएका छन्।
उद्घाटन समारोहमा शुभकामना दिन कांग्रेसले स्वदेश तथा विदेशका विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई निमन्त्रणा गरेको छ। कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरू सहभागी हुने कांग्रेसले जनाएको छ।
कांग्रेस नेताहरूका अनुसार उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन्।
त्यस्तै, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने उनको सचिवालयले जनाएको छ।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा सहभागी नहुने भएका छन्। एमाले प्रवक्ता निरज आचार्यका अनुसार ओलीको स्थानमा महासचिव शंकर पोखरेल कार्यक्रममा सहभागी हुनेछन्।
कांग्रेसको १५औँ महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक तथा सांगठनिक दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। उद्घाटनपछि महाधिवेशनको निर्धारित कार्यतालिकाअनुसार बन्दसत्र तथा निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढ्नेछ।