काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय प्रचार विभागको प्रथम बैठक सम्पन्न भएको छ। शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले बलराम थापालाई विभागको सचिवमा चयन गरेको छ।
पार्टी प्रवक्ता प्रकाश ज्वालाको प्रमुख आतिथ्यता तथा विभाग प्रमुख रेखा शर्माको अध्यक्षतामा बैठक बसेको हो। विभागका उपप्रमुख अशेष घिमिरेले बैठक सञ्चालन गरेका थिए।
बैठकमा विभाग प्रमुख शर्माले पार्टीको प्रचार नीति तथा आगामी कार्ययोजना निर्माणका लागि विभागले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्। पार्टीका गतिविधि तथा राजनीतिक सन्देशलाई प्रभावकारी रूपमा जनतामाझ पुर्याउन प्रचार विभागले योजनाबद्ध रूपमा काम गर्ने उनको भनाइ थियो।
बैठकलाई सम्बोधन गर्दै पार्टी प्रवक्ता प्रकाश ज्वालाले प्रचारको क्षेत्रलाई सुदृढ नगरी सम्भावित निर्वाचन र समाजवादी क्रान्तिमा सफलता हासिल गर्न नसकिने धारणा राखे। उनले पार्टीको राजनीतिक गतिविधिसँगै प्रचार संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
बैठकमा भौतिक तथा भर्चुअल माध्यमबाट सहभागी सदस्यहरूले पार्टी एकताका बाँकी काम छिटो सम्पन्न गर्नुपर्ने, प्रभावकारी मिडिया रणनीति बनाउनुपर्ने तथा प्रचार कार्यलाई पार्टीले विशेष प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए।
बैठकले सात भौगोलिक तथा तीन गैरभौगोलिक प्रदेश र विभिन्न विधागत क्षेत्रमा प्रचार समन्वयका लागि विभागका सदस्यहरूलाई जिम्मेवारी तोकेको सचिव बलराम थापाले जानकारी दिए।
त्यस्तै, बैठकले प्रगतिशील, वामपन्थी तथा समाजवादी पत्रकारहरूको बृहत् भेला र अन्तरक्रिया आयोजना गर्ने निर्णय गरेको छ। उक्त कार्यक्रमको मिति भने पछि तय गरिने जनाइएको छ।
नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय प्रचार विभागमा हाल ३५ जना सदस्य रहेका छन्।