सहमहामन्त्रीमा तीन महिला नेतृ मैदानमा, कांग्रेस महाधिवेशनमा बढ्यो प्रतिस्पर्धा

1.8k Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र भएको छ। यस क्रममा तीन महिला नेतृले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

उम्मेदवारी घोषणा गर्ने महिला नेतृमा प्रतिमा गौतम, लक्ष्मी परियार र सीता गुरुङ रहेका छन्। उनीहरूले पार्टीको आगामी महाधिवेशनमा सहमहामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

केन्द्रीय सदस्य प्रतिमा गौतमले सामाजिक सञ्जालमार्फत सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी हुन्। उनले आगामी राजनीतिक यात्रामा पार्टी र राष्ट्रप्रतिको आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको बताएकी छन्।

त्यस्तै, केन्द्रीय सदस्य लक्ष्मी परियारले दलित क्लस्टरतर्फबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेकी छन्। उदयपुरबाट महाधिवेशन प्रतिनिधि चयन भएपछि उनले सहमहामन्त्री पदमा दाबी गर्ने बताएकी हुन्।

पूर्वमन्त्री तथा केन्द्रीय सदस्य सीता गुरुङले पनि सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्रीका लागि प्रतिस्पर्धा गर्ने बताएकी हुन्।

यसपटक कांग्रेसको संशोधित विधानअनुसार सहमहामन्त्रीको संख्या ११ पुगेको छ। तीमध्ये आठ जना विभिन्न क्लस्टरबाट निर्वाचित हुनेछन् भने तीन जना सभापतिले निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट प्रस्ताव गरी केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराउने व्यवस्था छ। मनोनीत हुने तीनमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ।

महाधिवेशन नजिकिँदै जाँदा सहमहामन्त्रीसहित विभिन्न पदमा आकांक्षी नेताहरूले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ।

महिला नेतृहरूको उम्मेदवारीसँगै कांग्रेसभित्र सहमहामन्त्री पदको प्रतिस्पर्धा थप रोचक बनेको छ। अन्तिम उम्मेदवारी दर्तासँगै कुन–कुन क्लस्टरबाट कति उम्मेदवार मैदानमा रहनेछन् भन्ने तस्वीर स्पष्ट हुनेछ।

सम्बन्धित समाचार