नेपालको पुनर्निर्माण र लगानीबारे अमेरिकी ट्रेजरी तथा विश्व बैंकसँग वाग्लेको छलफल

2.4k Shares

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले अमेरिका पुगेका छन्। दुई सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार वासिङ्टन पुगेका वाग्लेले अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गासँग भेटवार्ता गर्ने भएका छन्।

विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाको निमन्त्रणामा अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले नेपाल–अमेरिका आर्थिक साझेदारी र सहयोगलाई थप सुदृढ बनाउने विषयमा उच्चस्तरीय छलफल गर्ने कार्यक्रम छ।

भेटवार्तामा हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि थप वित्तीय तथा प्राविधिक सहयोग जुटाउने विषयमा छलफल हुने जनाइएको छ।

त्यस्तै, नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रयास, आर्थिक शासन तथा वित्तीय क्षेत्र सुधारलगायतका विषय पनि छलफलको एजेन्डामा रहनेछन्।

अर्थमन्त्री वाग्लेको भ्रमणको अर्को प्रमुख उद्देश्य विकास साझेदार तथा निजी क्षेत्रको लगानी बढाउनु रहेको छ। सडक, विद्युत् प्रसारण लाइनलगायत महत्वपूर्ण पूर्वाधारमा लगानी विस्तार गरी रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने विषयमा उनले अमेरिकी पक्षसँग छलफल गर्नेछन्।

भ्रमणका क्रममा वाग्लेले अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) का उच्च अधिकारी तथा निजी क्षेत्रका प्रमुख लगानीकर्तासँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

वासिङ्टन भ्रमणपछि अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंक समूहको वार्षिक बैठकमा समेत सहभागी हुनेछन्। उक्त अवसरमा नेपालका पुनर्निर्माण आवश्यकता, जलवायु जोखिम तथा लगानीका सम्भावनाबारे अन्तर्राष्ट्रिय साझेदारको ध्यानाकर्षण गराउने सरकारको तयारी छ।

सम्बन्धित समाचार