युवा सहभागितादेखि नयाँ निर्वाचन अभ्याससम्म, यस्तो छ कांग्रेस महाधिवेशनको तयारी

981 Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। असोज १८ गते उद्घाटन हुने महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ। महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेसले जनाएको छ।

महाधिवेशनको उद्घाटन सत्र आज दिउँसो २ बजे खुलामञ्चमा आयोजना हुँदैछ। असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सञ्चालन गर्ने कार्यतालिका छ। देशभर तथा विदेशबाट आएका करिब ७ हजार ७ सय महाधिवेशन प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछन्।

महाधिवेशनका लागि खुलामञ्चमा भव्य मञ्च निर्माण गरिएको छ। उद्घाटन र बन्दसत्र एउटै स्थानमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। ठूलो संख्यामा प्रतिनिधिको व्यवस्थापनका लागि बन्दसत्र सञ्चालन गर्न ‘हिमाल’, ‘पहाड’ र ‘तराई–मधेस’ नाम दिइएका तीनवटा ठूला संरचना तयार पारिएका छन्।

बन्दसत्रमा कांग्रेस सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। प्रतिनिधिहरूलाई भूगोलका आधारमा विभिन्न समूहमा विभाजन गरी प्रतिवेदनमाथि छलफल गराउने तयारी गरिएको छ। डिजिटल बोर्डमार्फत प्रतिनिधिले प्रस्तुत दस्तावेज हेर्न र सुन्न सक्ने व्यवस्था गरिएको छ।

महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई समेत निमन्त्रणा गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरू सहभागी हुने कार्यक्रम छ। केही शीर्ष नेताहरू भने सहभागी नहुने भएका छन्।

यसपटकको महाधिवेशनलाई कांग्रेसले विगतभन्दा फरक र नयाँ अभ्याससहित अघि बढाउन खोजेको छ। ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने, विभिन्न तहमा महिलाको कम्तीमा एकतिहाइ सहभागिता सुनिश्चित गर्ने तथा विभिन्न पेसा र क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई पार्टीको नेतृत्व संरचनामा ल्याउने व्यवस्था गरिएको छ।

कांग्रेसको केन्द्रीय कार्यसमिति अब २३२ सदस्यीय बन्नेछ। त्यसमध्ये १७१ जना निर्वाचित र ६१ जना सभापतिबाट मनोनीत हुने व्यवस्था छ। त्यस्तै, सहमहामन्त्रीको संख्या आठबाट बढाएर ११ पुर्‍याइएको छ। विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट आएका प्रतिनिधिमध्येबाट समेत केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।

महाधिवेशनमा यसपटक भड्किलो प्रचारशैलीलाई निरुत्साहित गरिएको छ। देश प्राकृतिक विपद्बाट प्रभावित रहेको अवस्थालाई ध्यानमा राख्दै फ्लेक्स, ब्यानर, पोस्टर तथा पम्प्लेटजस्ता भौतिक प्रचार सामग्रीमा रोक लगाइएको छ। उम्मेदवारहरूलाई डिजिटल माध्यमबाट प्रचार गर्न प्रोत्साहित गरिएको छ।

प्रतिनिधिहरूको आवास काठमाडौंका विभिन्न क्षेत्रमा व्यवस्थापन गरिएको छ भने भोजनको व्यवस्था भृकुटीमण्डपमा गरिएको छ। महाधिवेशन स्थलमा स्वास्थ्य सेवाका लागि चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क र एम्बुलेन्सको व्यवस्था गरिएको छ। प्रतिनिधिहरूका सवारीसाधनका लागि काठमाडौंका विभिन्न स्थानमा पार्किङको व्यवस्था समेत मिलाइएको छ।

कांग्रेसको १५औँ महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा, संगठनात्मक सुधार र नयाँ पुस्ताको भूमिकाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। विशेष महाधिवेशनबाट संशोधित विधान कार्यान्वयनमा आउने भएकाले यसपटकको महाधिवेशनलाई कांग्रेसको संगठनात्मक रूपान्तरणका दृष्टिले समेत महत्वपूर्ण मानिएको छ।

सम्बन्धित समाचार