कोरला नाकाको अवस्था बुझ्न चिनियाँ राजदूत उपल्लो मुस्ताङमा

932 Shares

स्ताङ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ सात सदस्यीय टोलीसहित शनिबार कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेका छन्।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार चिनियाँ राजदूत कोरला नाकाबाट नेपाल प्रवेश गरी लोमान्थाङ पुगेका हुन्। भ्रमणको विस्तृत उद्देश्यबारे भने आधिकारिक जानकारी प्राप्त नभएको उनले बताइन्।

राजदूत चाङ तीनदिने भ्रमणका क्रममा लोमान्थाङ पुगेका हुन्। भ्रमण टोलीमा पाँच जना चिनियाँ नागरिकसहित सात जना रहेको बताइएको छ। भ्रमणपछि टोली लोमान्थाङबाट कोरला नाका हुँदै चीनतर्फ फर्किने कार्यक्रम रहेको जनाइएको छ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार कोरला नाकाको अवस्था र वस्तुस्थितिबारे जानकारी लिन चिनियाँ राजदूत मुस्ताङ आएका हुन्।

लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको विकल्पका रूपमा प्रयोग हुँदै आएको केरुङ नाका भोटेकोशीमा आएको बाढीका कारण प्रभावित भएपछि कोरला नाका सञ्चालनको माग बढ्दै गएको छ। यही समयमा चिनियाँ राजदूतको मुस्ताङ भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

रसुवा र तातोपानी नाका बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयबाट दैनिक करिब ३० करोड रुपैयाँ बराबरको राजस्व संकलन हुँदै आएको बताइएको छ। यसले कोरला नाकाको नियमित सञ्चालन र सीमावर्ती व्यापारलाई थप महत्व दिएको छ।

चिनियाँ राजदूतको भ्रमणले कोरला नाका सञ्चालन, सीमा व्यापार तथा नेपाल–चीनबीचको उत्तरी व्यापारिक मार्गका विषयमा थप छलफल र सहजीकरणको सम्भावना बढाएको स्थानीय तहका अधिकारीहरूको अपेक्षा छ।

सम्बन्धित समाचार