दलहरूबीच प्रतिस्पर्धासँगै सहकार्य पनि आवश्यक : श्रम संस्कृति पार्टीका महासचिव राई

1.2k Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा बोल्दै राईले राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धासँगै आवश्यक विषयमा सहकार्यको वातावरण निर्माण गर्नुपर्ने धारणा राखेका हुन्।

उनले लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन राजनीतिक दलहरूले आफ्ना मतभिन्नतालाई स्वाभाविक रूपमा स्वीकार गर्दै लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणमा साझा प्रतिबद्धता देखाउनुपर्नेमा जोड दिए।

राईका अनुसार लोकतन्त्रमा दलहरूबीच प्रतिस्पर्धा हुनु आवश्यक भए पनि लोकतान्त्रिक प्रणालीमाथि चुनौती उत्पन्न हुँदा सबै दल एक ठाउँमा उभिन सक्नुपर्छ। राजनीतिक असहमति र प्रतिस्पर्धालाई व्यवस्थाको सुदृढीकरणमा उपयोग गर्नुपर्ने उनको भनाइ छ।

कांग्रेसको १५औँ महाधिवेशनले पार्टीको आगामी नेतृत्वसँगै राजनीतिक दिशा र रणनीति तय गर्ने भएकाले यसलाई लोकतान्त्रिक अभ्यासका दृष्टिले पनि महत्वपूर्ण रूपमा हेरिएको छ।

राईले लोकतन्त्रलाई संस्थागत गर्न राजनीतिक दल, नेता तथा कार्यकर्ताले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

सम्बन्धित समाचार