काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी आफ्नो मूल उद्देश्यबाट विचलित हुँदै सत्तालाई प्राथमिकता दिँदा जनताबाट टाढिएको बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा सभापति थापाले पार्टीले विगतमा हासिल गरेका उपलब्धिलाई संस्थागत गर्दै जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउन नसकेको उल्लेख गरेका छन्।
उनले कांग्रेसले लोकतन्त्र, संविधान र राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेले पनि पछिल्लो समय आफ्नो राजनीतिक उद्देश्य र जनअपेक्षाबीच दूरी बढ्दै गएको समीक्षा गरेका छन्।
थापाको प्रतिवेदनमा पार्टीभित्र सत्ता र पदकेन्द्रित प्रवृत्ति बढ्दा संगठन कमजोर बनेको तथा जनतासँगको सम्बन्ध प्रभावित भएको उल्लेख छ। जनताको अपेक्षा सम्बोधन गर्न नसक्दा कांग्रेसप्रति असन्तुष्टि बढेको उनको निष्कर्ष छ।
उनले कांग्रेसले विगतका उपलब्धिमा मात्र गर्व गरेर नपुग्ने भन्दै बदलिँदो राजनीतिक र सामाजिक परिस्थितिअनुसार पार्टीलाई पुनः जनतासँग जोड्नुपर्नेमा जोड दिएका छन्।
प्रतिवेदनमा कांग्रेसले अब सत्ता प्राप्तिलाई मात्र राजनीतिक सफलताको मापदण्ड नबनाई आफ्नो मूल उद्देश्य, नीति र जनताप्रतिको जिम्मेवारीलाई केन्द्रमा राख्नुपर्ने धारणा अघि सारिएको छ।
महाधिवेशनको बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथि प्रतिनिधिहरूले छलफल गर्नेछन्। थापाको राजनीतिक प्रतिवेदनले पार्टीको आगामी कार्यदिशा, संगठन सुधार र जनतासँगको सम्बन्ध पुनःस्थापित गर्ने विषयलाई समेत प्राथमिकतामा राखेको छ।