कांग्रेस महाधिवेशनमा आज महत्वपूर्ण दिन, बन्दसत्रसँगै निर्वाचन प्रक्रिया सुरु

1.6k Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र सञ्चालन हुँदैछ। आइतबार उद्घाटन सत्र सम्पन्न भएपछि सोमबार बिहानदेखि महाधिवेशन औपचारिक रूपमा नीति, राजनीतिक प्रतिवेदन, विधान संशोधन तथा नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढेको हो।

बन्दसत्र बिहान ९ बजेदेखि सुरु हुने कार्यतालिका रहेको छ। आजको सत्रमा सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यस्तै विधान संशोधनसम्बन्धी प्रस्ताव र आर्थिक प्रतिवेदनसमेत महाधिवेशनमा पेस हुने तयारी छ।

कांग्रेसले यसपटकको महाधिवेशनलाई केवल नेतृत्व चयनमा सीमित नराखी नीति तथा कार्यक्रम निर्माणमा केन्द्रित गर्ने बताउँदै आएको छ। सभापति थापाको राजनीतिक प्रतिवेदनमा आगामी चार वर्षको पार्टीको कार्यदिशा, सरकार, मुलुकको समग्र अवस्था तथा अन्तर्राष्ट्रिय सम्बन्धलगायत विषय समेटिएका छन्।

विधान संशोधनमा पदाधिकारी थप्ने प्रस्ताव

महाधिवेशनमा कांग्रेसको विधान संशोधनसम्बन्धी प्रस्तावलाई विशेष महत्वका साथ अघि बढाइँदैछ। प्रस्तावअनुसार पार्टीका पदाधिकारीको संख्या २१ पुर्‍याउने तयारी छ। वरिष्ठसहित चार उपसभापति, दुई महामन्त्री र १३ सहमहामन्त्री रहने गरी संरचना प्रस्ताव गरिएको छ। १३ सहमहामन्त्रीमध्ये ११ जना निर्वाचित र दुई जना मनोनीत हुने व्यवस्था प्रस्तावित छ।

चार उपसभापतिमध्ये कम्तीमा एक जना महिला अनिवार्य गर्ने प्रस्तावसमेत अघि सारिएको छ। केन्द्रीय समितिको संख्या भने २३२ सदस्यकै हाराहारीमा कायम राख्ने सहमति बनेको बताइएको छ।

निर्वाचन प्रक्रिया पनि आजैदेखि

बन्दसत्रसँगै कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचनसम्बन्धी प्रारम्भिक प्रक्रिया पनि सुरु हुँदैछ। कार्यतालिकाअनुसार आज साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। त्यसपछि दाबी–विरोधका लागि समय दिइने र आवश्यक जाँचबुझपछि राति अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी छ।

महाधिवेशनमा करिब ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने बताइएको छ। ठूलो संख्यामा प्रतिनिधि सहभागी हुने भएकाले बन्दसत्रलाई व्यवस्थित बनाउन खुलामञ्चमा छुट्टाछुट्टै हल निर्माण गरिएको छ। प्रतिनिधिहरूलाई भौगोलिक आधारमा समूह बनाएर प्रतिवेदनमाथि छलफल गराउने व्यवस्था गरिएको छ।

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २२ गतेसम्म सञ्चालन हुँदैछ। उद्घाटनपछि अब बन्दसत्र, विधान संशोधन, उम्मेदवारी दर्ता तथा निर्वाचनका कार्यक्रम क्रमशः अघि बढ्नेछन्।

सम्बन्धित समाचार