काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उद्योगी तथा व्यवसायी पृष्ठभूमिका नेताहरू पार्टीको नेतृत्व तहमा पुग्ने दौडमा सक्रिय देखिएका छन्। आर्थिक क्षेत्रको अनुभवलाई राजनीतिक नीतिनिर्माणसँग जोड्ने उद्देश्यसहित उनीहरू विभिन्न पदमा उम्मेदवारी दिने तयारीमा अघि बढेका हुन्।
कांग्रेसभित्र पछिल्लो समय निजी क्षेत्र, उद्यमशीलता, रोजगारी सिर्जना र आर्थिक रूपान्तरणका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बहस चलिरहेको छ। यही परिवेशमा उद्योग–व्यवसाय क्षेत्रमा लामो समय काम गरेका व्यक्तिहरू प्रत्यक्ष रूपमा पार्टीको नेतृत्वमा सहभागी हुन खोजिरहेका छन्।
उद्योगपति एवं कांग्रेस नेता विनोद चौधरीले उपसभापति पदमा उम्मेदवारी घोषणा गर्दै आर्थिक समृद्धि र रूपान्तरणलाई राजनीतिको केन्द्रमा राख्नुपर्ने बताएका छन्। उनले नयाँ सोच, स्पष्ट आर्थिक दृष्टिकोण र परिणाममुखी नीतिका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
त्यस्तै, पोखराका व्यवसायी किरण केसी पनि कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। व्यवसाय, जलविद्युत, वित्तीय तथा पूर्वाधार क्षेत्रमा काम गरेको अनुभवलाई नीतिगत तहमा उपयोग गर्ने उद्देश्यसहित आफू राजनीतिमा सक्रिय भएको उनको भनाइ छ।
केसीले उद्योग–व्यवसायले रोजगारी सिर्जना गर्ने, नागरिकको आय बढाउने र राज्यलाई राजस्व उपलब्ध गराउने भएकाले आर्थिक क्षेत्रका समस्या समाधान गर्न व्यवसायीहरू नीतिनिर्माणमै सहभागी हुनुपर्ने धारणा राखेका छन्।
कांग्रेसको महाधिवेशनमा युवा तथा विभिन्न पेशागत क्षेत्रका व्यक्तिको सहभागिता बढेसँगै उद्योगी–व्यवसायीको राजनीतिक सक्रियतालाई पनि पार्टीभित्र नयाँ पुस्ता र आर्थिक क्षेत्रलाई जोड्ने प्रयासका रूपमा हेरिएको छ। प्रतिनिधिहरूले अनुभवी पुस्ताको राजनीतिक ज्ञान र युवाको ऊर्जा तथा व्यवसायिक अनुभवलाई एकसाथ अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
कांग्रेसले आगामी दिनमा लगानीमैत्री वातावरण, रोजगारी सिर्जना, निजी क्षेत्रसँग सहकार्य र स्पष्ट आर्थिक नीतिलाई प्राथमिकता दिने बहस अघि बढाइरहेको छ। त्यसैले उद्योगी–व्यवसायीहरूको नेतृत्वमा बढ्दो उपस्थितिले पार्टीको आर्थिक नीति र संगठनात्मक संरचनामा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।