काठमाडौं । पछिल्लो समय नेपाल सरकारका मन्त्रीहरूको विदेश भ्रमण बाक्लिँदै गएको छ। विभिन्न अन्तर्राष्ट्रिय बैठक, सम्मेलन तथा द्विपक्षीय कार्यक्रमलाई कारण देखाउँदै एकपछि अर्को गर्दै मन्त्रीहरू विदेश भ्रमणमा निस्किन थालेका छन्।
हाल अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका भ्रमणमा छन् भने परराष्ट्रमन्त्री शिशिर खनाल फिजी पुगेका छन्। अर्थमन्त्री वाग्ले विश्व बैंकका अध्यक्षको निमन्त्रणामा अमेरिका गएका हुन् भने परराष्ट्रमन्त्री खनाल प्रि–कोप लिडर्स इभेन्टमा सहभागी हुन फिजी पुगेका हुन्। उनीहरूको अनुपस्थितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारीसमेत दिइएको छ।
यसअघि पनि सरकारका उच्चपदस्थ अधिकारी तथा मन्त्रीहरूको विदेश भ्रमण निरन्तर देखिँदै आएको छ। संयुक्त राष्ट्रसंघको महासभा, अन्तर्राष्ट्रिय सम्मेलन, आर्थिक तथा कूटनीतिक बैठकलगायत कार्यक्रममा सहभागी हुन प्रधानमन्त्रीदेखि मन्त्रीसम्म विदेश जाने क्रम बढेको हो।
परराष्ट्रमन्त्री खनालले यसअघि संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका भ्रमण गरेका थिए। त्यहाँ उनले उच्चस्तरीय बैठक, मन्त्रीस्तरीय कार्यक्रम तथा विभिन्न द्विपक्षीय भेटवार्तामा सहभागिता जनाएका थिए।
सरकारले विदेश भ्रमणलाई अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, आर्थिक कूटनीति प्रवर्द्धन, लगानी आकर्षण, व्यापार तथा रोजगारीका अवसर विस्तारसँग जोडेर अघि बढाउने बताउँदै आएको छ। विदेश भ्रमणबाट नेपालको हितमा ठोस उपलब्धि हासिल गर्नुपर्नेमा भने जोड दिइएको छ।
तर, मन्त्री तथा उच्चपदस्थ अधिकारीहरूको लगातार विदेश भ्रमणप्रति विगतदेखि नै प्रश्न उठ्दै आएको छ। सरकारी काम प्रभावित नहुने, भ्रमण आवश्यक र उपलब्धिमूलक हुने तथा राज्यको खर्च मितव्ययी ढंगले प्रयोग हुने विषयमा ध्यान दिनुपर्ने आवाजसमेत उठ्ने गरेको छ।